कविता : समाजवाद र साम्यवादी ललिपपले बोक्र्याईएका नेपालीहरु
माथिल्लो डोल्पा र
उपल्लो कर्णालिका चिसा आँगनमा पोलिदैछन अरे
समृद्धिको जिउँदा लासहरु
भ्रस्टाचार र बलात्कारका आला घाउहरु
न्यायको चौघटमा लिलाम भएका कानुनहरु
वर्गीय असमानताका खाडलहरु
आयातित धर्म संस्कृतिको हुटहुटिले
चर्किएका
जातिय र धार्मिक विभेदहरु ।
बाढि-पहिरो पिडित बस्ती माथी हेलिकप्टर घुमाएर ,
कृषि क्रान्तिको बिजारोपण गर्दै
मञ्च बनाउन धान खेत र गहुँ बाली फाँडेर
आश्वासनको पहाडले प्राण थिचुन्जेल सम्म
बाँढ्दैछन अरे
एक बित्ता त्रिपाल र केहि पोका चाउचाउहरु ।
कोरोना कहर कतिलाई बज्रपात
कतिलाई फलिफाप
घर-खेत लिलाम हुन पुगेका साना ब्यवसायी
महल ठडिएका ठुला ब्यापारीलाई हेर्दै
अस्सि इन्च उचाई बढाएर
खिस्स हाँस्दै छ अरे सगरमाथाहरु ।
अरबौंका हेलिकप्टर पार्किङमा थन्क्याएर
धुलो धुवाँ र डंढेलोको सार्वजनिक बिदा खन्याउँदै
प्रतिब्यक्ती ५२ हजार सरकारी ॠणको भारिले न्याक्दै
अरबका गल्ली र मलेसियाको जंगलबाट
नियाल्दैछन समृद्धिहरु ।
रगत र पसिना साटेको पैसाले
कहिले हेर्दैछु
भारतिय तरकारिको बाटो
कहिले हेर्दैछु
बंगलादेशी चामलको बाटो
आत्मनिर्भर देशलाई परनिर्भर बनाएर
रेमिटेन्सको लामो लाईन भित्र
खोज्दैछु नेपाली माटो ।
मार्क्सवाद,
लेनिनवाद,
माओवाद,
बिपिवाद,
भण्डारिवाद,
मोदिवाद,
ढोगिवाद हेर्दै
नेताहरुको "म" वाद र
कार्यकर्ताहरुको "तँ"वाद भित्र
बिदेशिको हैकमवाद धेरै देखियो
त्यो भन्दा धेरै
समाजवाद र साम्यवादी ललिपपले
बोक्र्याईएका नेपालीहरु
धेरै देखियो ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology