राजेश पराजुली, पोखरा । पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।
नेपालको मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालीले उक्त प्रतियोगिता आगामी मंसिर ८ र ९ गते गर्न लागेको हो । इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाका अनुसार उक्त प्रतियोगितामा करिब १ सय भन्दा बढि प्रतियोगीहरुको सहभागिता हुने छ ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालकै पहिलो ठूलो बाइक रेस भएको जनाउँदै थापाले यो प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागि समेत महत्वपूर्ण रहेको बताए । उनले भने–“अब पोखरा हिमाल र तालले मात्रै चिनिने छैन साहसिक खेलकुदको उत्कृष्ट खेल मध्येको एक बाइक रेसले पनि विश्वमा चिनिने छ ।”
नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरेको रुचीको विषय समेत भएकोले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रवन्ध निर्देशक थापाले बताए । प्रतियोगिताको तयारी सुरु भएको जनाउँदै उनले भने–“नेपालको बाइक रेसको इतिहासमा नै वृहत् मोटरबाइक रेस नेपालकै ठूलो ट्रयाक पोखरा रंगशालामा आयोजना हुनेछ । यसले बाइक रेस के हो भन्ने चिनाउने संगै यूवा खेलाडीहरुलाई यसतर्फ आकर्षण गराउन समेत प्रभावकारी हुनेछ ।”
गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोश्रो संस्करणको तयारी संगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको बताउँदै प्रवन्ध निर्देशक थापाले आफ्नो संस्थाले विगतमा रोड सेफ्टीका विषयमा समेत धेरै यूवाहरुलाई प्रशिक्षण प्रदान गरेको बताए । “हामीले विगतमा रोड सेफ्टीका विषयमा धेरै यूवाहरुलाई जागरुक गराएका छौं । ‘हाइ वे सेफ्टी राइड’, उमेन्स बाइक रेस पनि आयोजना गरिसकेका छौं । अब रेसका माध्यमबाट उनीहरुलाई यस बारे थप जागरुक र सचेतना फैलाउन सहयोग मिल्नेछ ।”
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमश जनही नगद रु १ लाख, ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारण तर्फ २ सय र भिआइपीतर्फ १ देखि ५ हजार सम्मको टिकट विक्रि गरिने प्रवन्ध निर्देशक थापाले जानकारी दिए । नेपाली बाइक रेसको इतिहास टिकटको व्यवस्था समेत पहिलो हो ।
प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरि दुई प्रकारका बाइकहरुको प्रयोग हुने छ । जिल्ला खेलकुद विकास समिति कास्कीमा स्विकृती लिएर आयोजित उक्त बाइक रेस पोखरा रंगशाला भित्र रहेको कालोपत्रे सडक भित्र सञ्चालन हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology