जनआन्दोलन २०४६ पछि जनताले विधि, कानुनी शासन र थितिको आस गरेका थिए। तर सुत्केरी काण्ड, पजेरो काण्ड, सांसद खरिदबिक्री काण्डलगायतले संसदीय व्यवस्थाकै खिल्ली उडायो । त्यसो हुँदाहुँदै राजाले प्रजातन्त्र खोसे। जनताले फेरि आन्दोलन गर्नुपर्यो ।
राजनीतिक आवरणले खोल ओढेका अपराधमा ‘भीआईपी’ हरुकै नाम जोडिन थालेपछि राजनीति सङ्लो हुने आशा कहिँकतै थिएन।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको छोटो समयमा यस व्यवस्थाप्रति वितृष्णा उब्जाउने काम भएका छन्, विधि निर्माताबाटै। बढ्दो भ्रष्टाचार, कानुन र विधिको उल्लंघन, जनप्रतिनिधिमा सेवासुविधा मोह, महत्त्वाकांक्षा, अपारदर्शिता र नातावाद मौलाउँदो देखिनु लोकतन्त्रका लागि राम्रो संकेत भने होइन।
जनताले आफ्ना प्रतिनिधिमा उच्च नैतिक आचरण, व्यवहार र इमानदारीता खोज्छन् । जनताले आफ्नो मतबाट यस्ता गुण भएको नेतृत्व छान्छन् भन्ने विश्वास गरिन्छ, लोकतन्त्रमा । जनताले नै गलत व्यक्ति चयन गर्छन् भने उसबाट नैतिकता र इमानदारी खोज्नु मूर्खता हुन्छ । सबै नीतिको मूल नीति राजनीति हो। मूल सफा भए मात्र समाज सुधार गर्न सकिन्छ। राजनीति दुर्गन्धित हुँदा समाजका अन्य अवयव पनि स्वत: दुर्गन्धित र मैला देखिनु अस्वाभाविक होईन ।
राजनीति र सत्ताको आडमा जे पनि गर्न सकिन्छ भन्ने मानसिकता नेतृत्वमा रहेसम्म कानुनी शासन, विधि र संविधानको कुरा कागजमा मात्र सीमित हुनेछ। राजनीतिमा यति बेला अनैतिकताको आँधी मडारिइरहेको छ । राजनीतिमा कहिल्यै नैतिकता पनि थियो र भन्ने संशय नै खडा गर्ने गरी अनैतिकताको दलदलमा भासिइरहेको छ ।नैतिकता ढलिरहेको यो कठिन समयमा अझै घनीभूत रूपमा नैतिक प्रसंग दोहोर्याइराख्नुपर्ने खाँचो पनि देखिएको छ ।
"सतहमा देखिने दृश्यहरू परिणाम मात्रै हुन",जसलाई निकै गहिरा कारणहरूले निर्माण गरिरहेका हुन्छन् ।नेपाली राजनीतिमा नैतिकताको वृक्ष नै सुक्ने गरी खडेरी परेको निकै लामो समय भइसक्यो । तर, सिद्धहस्त राजनीतिक विश्लेषक पनि चक्मा खाने, अनुभवको सगरमाथा बोकेको नेताले पनि दिमाग खियाउनुपर्ने गरी राजनीति दुर्गन्धित बनेको छ। शक्ति–अभ्यासमा देखाउनकै लागि पनि राजनीतिज्ञले नैतिकताको ढोङ गर्छ, इतिहासका क्रूरतम अधिनायकवादी र फासीवादीहरूले पनि दुनियाँलाई भ्रम छर्न निर्वाचन गर्छन्, जनसमर्थनको नाटक देखाउँछन् । अर्थात्, देखाउनकै लागि पनि नैतिकवान भइटोपल्छन् । तर देखाउनका लागि पनि नैतिकता बाँकी नरहेपछि अहिलेजस्तो राजनीति अँध्यारो सुरुङभित्र प्रवेश गर्ने गर्छ, जसका कारण भोलि के हुँदै छ भन्ने सामान्य आंकलन गर्न राजनीतिका काबिल खेलाडीलाई पनि मुस्किल पर्छ ।
नेतृत्वको मनोमानीबाट विकसित पार्टी जीवनमा अहिले देखिरहेको संकटको समयमै उचित समाधान नखोज्ने हो भने यसले भोलि पनि देशमा अस्थिरता पैदा गरिरहने निश्चित छ । अहिलेको परिणामका कारण खोजेर त्यसलाई निराकरण नगर्ने हो भने, दुःखले बनाएको संविधान, संसद् र लोकतन्त्रको आपराधिक हत्या आगामी पुस्ताले पनि टुलुटुलु हेरिरहनुपर्नेछ ।
- रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology