पोखरा । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो ।
पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरेका हुन् ।
सेल्डनले निकट भविष्यमै डिजिटल नक्सा राख्ने र हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ ठूलो डिजिटल नक्सा राख्ने गरी तयारी भइरहेको छ । यसमा यहाँ अवलोकन गर्न आउने दर्शकले स्क्रिनमा जुन ठाउँमा छुन्छन्, त्यसपछि प्रश्नोत्तरसहित जानकारी लिन सक्नेछन्,’ उनले भने ।
उक्त नक्साले नेपालको भूगोलसहित जीवनशैली तथा जैविक विविधता बुझ्न मद्दत गर्ने विश्वास संग्रहालयकी कार्यकारी अधिकृत निर्मला न्यौपानेको छ । उनले भनिन्, ‘यो नक्सा स्थापना भयो संग्रहालय अझ डिजिटल बन्ने नै छ । अवलोकनकर्ताले देश बुझ्न अझ सहयोग पुग्ने विश्वास लिएका छौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology