काठमाडौं । सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करीब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। वर्षमा सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन्। मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करीब ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने थालेका छन्। प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल शुरू गरेको सचिवालयले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology