देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ७ शीतलनगरस्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण (क्युएए सर्टिफाइड) गरेको छ । आइतबार सम्पन्न आयोगको बैठकले क्याम्पसलाई 'सर्टिफाइ' गरेको क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले जानकारी दिए ।
'क्युएए सर्टिफाइड' भएपछि क्याम्पसले विश्वविद्यालयबाट नयाँ कार्यक्रम प्राप्त गर्ने लगायतका कुरामा सहजता हुने र विद्यार्थीले प्राप्त गर्ने शैक्षिक प्रमाणपत्रको समेत स्तरियता वृद्धि हुने सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बताए ।
क्याम्पस क्युएए सर्टिफाइड भएको खुसियालीमा मंगलबार देवदहको खैरेनीबाट शीतलनगरसम्म प्रभातफेरी गरिने भएको छ । प्रभातफेरीमा क्याम्पस सञ्चालक समिति, चन्दादाता, क्याम्पससभा सदस्य, आजीवन सदस्य, आजीवन सल्लाहकार, संरक्षक, वरिष्ठ आजीवन संरक्षक, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थीको सहभागीता रहने सहायक क्याम्पस प्रमुख अधिकारीले बताए ।
देवदहमा महायज्ञ आयोजना गरेर सोही महायज्ञबाट प्राप्त जग्गा, संकलित रकम र जनस्तरबाट प्राप्त सहयोगले क्याम्पस संचालन हुँदै आएकोमा क्युएए सर्टिफाइड भएपछि विश्वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त हुने क्याम्पसले जनाएको छ ।
स्व. नमराज पूरीको अध्यक्षतामा स्थापित देवदह आदर्श बहुमुखी क्याम्पसलाई हालसम्म संस्थापक अध्यक्ष स्व. पुरी सहित पुर्व अध्यक्ष स्व. जीवलाल पराजुली, निवर्तमान ध्रुवप्रसाद खरेलले नेतृत्व गरिसकेका छन् । केही दिनअघि सम्पन्न क्याम्पस सभाले नयाँ अध्यक्षमा वासुदेव रिमाललाई चयन गरेको छ ।
वि. सं. २०६५ सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ । क्याम्पसमा हाल एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
रूपन्देहीमा यस अघि पाँचवटा क्याम्पस क्युएए सर्टिफाइड भैसकेका छन् । देवदह आदर्श क्याम्पस जिल्लामा क्युएए सर्टिफाइड हुने क्याम्पसको सूचीमा छैठौं नम्बरमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology