देवदह । देवदह नगरपालिका र नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्र बुटवलबीच देवदहवासीलाई निःशुल्क रगत उपलव्ध गराउने गरी सम्झौता भएको छ । देवदह क्षेत्रमा बसोवास गर्ने नागरिकलाई निशुल्क रगत उपलव्ध गराउने गरी दुवै पक्षवीच सोमबार सम्झौता भएको हो ।
देवदह क्षेत्रका नागरिकलाई रक्तसञ्चार सेवा केन्द्र बुटवलले निःशुल्क रगत उपलव्ध गराउने र सो वापत लाग्ने खर्च देवदह नगरपालिकाले व्यहोर्ने गरी सम्झौता भएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
सम्झौतामा निःशुल्क रगत लिनको लागि देवदहवासी हुनुपर्ने, रगत लिदा स्थायीवासीको प्रमाण पेश गर्नुपर्ने, आपतकालिन अवस्थामा देवदह नगरपालिकाले गरेको सिफारिसको आधारमा रगत उपलव्ध गराउने उल्लेख गरिएको छ । सम्झौता अनुसार नागरिकता, बसाईसराई, विवाह दर्ता तथा नगरपालिकाको सिफारिसको आधारमा देवदहबासीलाई रक्त संचार सेवा केन्द्र बुटवलले रगत उपलब्ध गराउने छ ।
सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले रगतको अभावमा कुनैपनि नगरवासीले मृत्युवरण गर्न नपरोस भनेर नगरपालिका र रक्तसञ्चार सेवा केन्द्र वीच सम्झौता गरिएको बताए । विगतका दिनमा पनि नगरपालिकाले नागरिकलाई निशुल्क रगत उपलव्ध गराउदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने गरी सम्झौता गरिएको उनको भनाइ छ ।
सम्झौता कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दिपकप्रसाद क्षेत्री न्यौपानेले रगतको कुनै मुल्य नहुने बताउदै रगत व्यवस्थापनमा लाग्ने खर्चमात्र लिईएको बताए । उनले रुपन्देहीका १६ वटै पालिकासंग सम्झौता गरिरहेको उल्लेख गर्दै नागरिकलाई रगत लिन सहज होस भनेर यस्ता अभियान संचालन गरेको बताए ।
सम्झौता पत्रमा देवदह नगरपालिको तर्फबाट नगरप्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा र नेपाल रेडक्रस सोसाईटीको तर्फबाट रुपन्देही शाखा सभापति दिपकप्रसाद क्षेत्री न्यौपाने, उपसभापति मित्रलाल न्यौपाने र रक्तसञ्चार सेवा केन्द्र बुटवलका ईन्चार्ज राधा ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology