बुटवल । रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दुई दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुले सहभागिता जनाउने भएका छन ।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघ २५ देखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवमा त्यतिनै संख्यामा स्थानिय कलाकारले समेत प्रस्तुती देखाउने छन । महोत्सबमा प्रत्येक दिन फरक फरक बिधाका चर्चित र लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतीक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार दर्शकको माग र चाहना अनुसार डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत तथा लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने छन् ।
महोत्सवमा कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायत गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला आयोजक मुल समितिका संयोजक हरि भण्डारीले बताए ।
करिब एक लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सव सम्पन्न गर्न ५० लाख खर्च लग्ने अनुमान गरिएको आर्थिक संयोजक सन्तोषनारायण श्रेष्ठले जानकारी दिए ।