देवदह । देवदह नगरपालिकाका ७ वटा वडाका वडाध्यक्षसहित केही जनप्रतिनिधिले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर सतहमा आएको विवादको समाधान दिन देवदहको राजनीतिक नेतृत्वले अझैसम्म संवादको सुरुवात गर्न सकेको छैन । राजनीतिक दलहरूले संवादमार्फत समस्याको निकास खोज्नुपर्नेमा त्यसो नगरी एक अर्कालाई दोषारोपण गर्ने कार्यमा समय व्यतित गरिरहको उनीहरूले जारी गरेका विज्ञप्तिबाट स्पष्ट हुन्छ ।
घटना घटेको दिन सोमबार नगर प्रवक्ता गणेश डुम्रेले प्रेस विज्ञप्ति जारी गरे । मंगलबार गम्भीर ध्यानाकर्षण भएको भन्दै एमाले नगर अध्यक्ष केशव भट्टराई र कांग्रेस नगर सभापति गुनाखर भुर्तेलले विज्ञप्तिमा जारी गरे ।
यसबीचमा दुई पत्रकार सम्मेलन आयोजना गरियो भने तीन वटा विज्ञप्ति जारी गरिए । सबै पत्रकार सम्मेलन र विज्ञप्तिमा एक अर्कालाई दोषारोपण गरिएको छ । नगर प्रवक्ता गणेश डुम्रेले नगर नेतृत्वको बचाउँमा शब्द खर्चेका छन् भने एमाले र कांग्रेस नेतृत्वले एक अर्कालाई दोषारोपण गरेका छन् ।
घटनालाई नगरपालिका र एमालेले अराजक र अराजनैतिक भन्दै कानुनी उपचारको कुरा गरेका छन् भने कांग्रेसले पार्टीलाई जोडेर आपराधिक र अराजक शब्दहरू प्रयोग गरी लाञ्छित गरिएको भन्दै आपत्ति जनाएको छ ।
जनप्रतिनिधिबीचमा देखिएको विवाद मिलाउन राजनितिक तहमा के कति संवाद भएका छन् भन्ने प्रश्नमा देवदह नगर प्रवक्ता गणेश डुम्रेले अहिलेसम्म संवाद नभएको तर संवादबाटै समस्याको निकास खोजिने बताए । एमाले देवदह अध्यक्ष केशव भट्टराईले राजनीतिक दलसंग संवादको बाताबरण मिलाउन आफुले पहल गर्ने बताए । त्यसैगरी कांग्रेस सभापति गुनाखर भुर्तेलले कुनै पनि दललाई आरोपित गर्न नहुने र राजनीतिक तहबाटै समस्याको हल निकाल्नुपर्ने भएपनि प्रभावकारी बसाइ हुन नसकेको बताए । नगरमा प्रतिनिधित्व गर्ने तेस्रो ठुलो दल राप्रपाका देवदह अध्यक्ष माधव रिमालले घटनाको प्रकृति र यसको पछाडिका कारणबारे अध्ययन गरिरहेको बताए । नेकपा माओवादी केन्द्रका देवदह नगर अध्यक्ष गोविन्द ठटराईले छलफलबाटै निकास निकाल्नुपर्ने भएपनि दलहरूमा बसाई हुन नसकेको बताए ।
सेतोमसीसंग कुरा गर्दै नगर प्रवक्तादेखि दलका नगर प्रमुखसम्मले संवादको आवश्यकता बताए पनि अझैसम्म दलहरूबीच बसाइ हुन् सकेको देखिदैन ।
पत्रकार सम्मेलन र विज्ञप्तिको भिड लगाएर मात्रै समस्याको समाधान हुन सक्दैन । राजनितिक घटनाको निकास राजनीतिक रूपमै खोजिनुपर्छ । जनताको सबैभन्दा नजिकको स्थानिय सरकारलाई अनिर्णयको बन्दी बनाउने वा एकल निर्णयले अगाडि बढ्न खोज्ने दुवै प्रवृत्ति घातक छन् । यसले राम्रो राजनीतिक अभ्यासको संकेत गर्दैन र यस प्रकारका गतिविधि देवदहको विकास र समृद्धिका बाधक हुन् भन्ने कुरा राजनीतिक नेतृत्व र जनप्रतिनिधिले बुझ्न जरूरी छ ।
जनताले जनप्रतिनिधिलाई जुङ्गाको लडाईमा रमाएर समय बर्बाद गर्न मत दिएका होइनन् । अपरिपक्क र अदुरदर्शी हठलाई त्यागेर दल र जनप्रतिनिधि टेवलमा बसेर जनताका समस्या, नगरको विकास र समृद्धिको बारेमा गम्भीर छलफल गर्न जरूरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology