देवदह । देवदह नगरपालिकामा जनप्रतिनिधीबीच देखिएको विवाद समाधान भएको छ । बुधबार एक समझदारी पत्रमा हस्ताक्षर गर्दै जनप्रतिनिधिहरूले नगरपालिकाको विकास र समृद्धिको लागि मिलेर अघि बढ्ने सहमति गरेका हुन् ।
समझदारी पत्रमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकार देवदह नगरपालिकामा देखिएको विद्यमान असहज परिस्थिति प्रति आफूहरू सजग भएको उल्लेख छ । समझदारी पत्रमा लेखिएको छ, "कानुनी राज्य, विधिको शासन, आर्थिक पारदर्शिता र नैतिक जिम्मेवारी बोधबाट नै स्थानीय सरकारलाई सुशासनको दिशामा डोर्याउने र समग्र नगरलाई समृद्ध बनाउने हाम्रो सपना र संकल्प पूरा हुने दिशातर्फ लैजान सकिन्छ भन्ने कुरामा हामीबिच कुनै मतभेद छैन । सुखी र खुसी जनता, नमुना नगर बनाउन हामीले प्राप्त गरेको ऐतिहासिक जिम्मेवारी खेर जान नदिनका निम्ति हामी संकल्पित छौ । असहज परिस्थितिलाई मलजल गर्ने र सहमति, सहकार्य र एकतालाई बङ्गाउने र भत्किने गरि सामाजिक संजाल र संचार माध्यममा आएका खबरहरुप्रति संवेदनशील र सजग रहदै ग्रहणयोग्य सुझाव बाहेक भ्रामक र अन्य विषयप्रति असहमति प्रकट गर्दै सल्लाह, सहमति, सहकार्य र एकतावद्ध ढंगबाट देवदह नगरका सम्पूर्ण वडा र नगरकार्यपालिकाका कामहरु नियमित रुपमा सुचारु गर्न हामी सबै ऐक्यबद्ध छौं ।"
एक पक्षले बहुमतको आधारमा निर्णय लिंदै जाने र अर्को पक्षले बहिस्कार गर्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नेसम्मको अवस्था किन आयो र केके शर्तका आधारमा सहमति भयो भन्ने विषय समझदारी पत्रमा उल्लेख नभए पनि विगतलाई विर्सेर अबका दिनमा पक्ष र विपक्ष नभई सहमति र सहकार्यको मार्गबाट अघि बढ्न नगर प्रमुख, उपप्रमुखसहित सबै वडा अध्यक्षहरू सहमत भएको नगरपालिका स्रोतले जनाएको छ ।
विभिन्न समयमा, किस्ता-किस्तामा बसेको बैठकले एउटा समझदारीमा पुर्याएको र अबका दिनमा सबैको सहमति र सहकार्यमा नगरपालिकाले कार्यसम्पादन गर्ने स्रोतको दावी छ ।
समझदारी पत्र

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology