विराटनगर । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्।
सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ। उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो। रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ।
दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ।
शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन्। नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology