देवदह । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि पुर्व बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमको बारेमा बिज्ञ र सरोकारवालाको सल्लाह सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व अर्थ सचिव कृष्णहरी बास्कोटाले प्रचलित कानुन र स्थानीय आवश्यकतालाई आधार मानेर कार्यक्रम बनाइनुपर्नेमा जोड दिए । ठूला र बहुबर्षे योजनामा लगानी गरिनुपर्ने उल्लेख गर्दै पुर्व सचिव बास्कोटाले टुक्रे योजना र वितरणमुखी बजेटले विकास सम्भव नहुने बताए । वडालाई सिलिङ्ग दिने वा प्रमुख, उपप्रमुखले सम्बोधित कार्यक्रमको नाममा बजेट होल्ड गर्ने कार्य आर्थिक अनुशासन र कानुनी हिसावले समेत गलत रहेको उनले बताए । विषयगत समिति र वडामा जनस्तरबाट आएका कार्यक्रममा बजेट छुट्याउने र तत्काल प्रतिफल दिने उत्पादनमुखी योजनामा लगानी गर्नसके बजेट प्रभावकारी हुने उनले बताए ।
नगरको विकासमा सबै राजनितिक दल, जनप्रतिनिधि, कर्मचारी लगायत सम्पूर्ण नगरवासीको समन्वय र सहकार्य आवश्यक उल्लेख गर्दै बास्कोटाले मानवीय क्षेत्रमाभन्दा भौतिक पुर्वाधारमा बढि बजेट विनियोजन गर्ने परिपाटीका कारण यथोचित विकास हुन नसकेको विचार व्यक्त गरे । कुन क्षेत्रमा पालिकाले लगानी गर्ने र कुन क्षेत्रमा राज्यका अन्य निकायको लगानीलाई समेट्ने भन्ने विषयमा समेत पालिकाको ध्यान नपुग्दा बजेट अभाव लगायतका समस्या देखिएको उनको भनाई छ ।
सोही अवसरमा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिबाट आएका सुझावलाई आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति, कार्यक्रम र बजेट निर्माणमा समावेश गरेर जाने प्रतिवद्धता व्यक्त गरे । नगरलाई समृद्ध बनाउनको लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय, सहकार्य आवश्यक रहेको औल्याउदै उनले विकास र समृद्धि सबैको दायित्वको विषय रहेको बताए । जनप्रतिनिधि, कर्मचारीहरु जिम्मेवारीबाट भाग्न नहुने बताउदै उनले विगतका कमीकमजोरीलाई सच्चाउदै जाने अघि बढ्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा,नगर प्रवक्ता गणेश डुम्रे, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ–आफना भनाई सहित सुझाब राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology