काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काको जर्सीमा लेखिने ७७ नम्बर प्रयोगमा नल्याउने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तानसमेत रहेका पारसको सम्मानमा क्यानले जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको हो ।
क्यानले आइतबार ट्विटर र फेसबुक मार्फत त्यसबारे जानकारी दिएको हो । पारस सधैं ७७ नम्बरको जर्सी लगाएर खेल्ने गर्थे । यो संगै पारसको जर्सीले समेत सन्न्यास लिएको छ ।
यसअघि पारसले गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरिसकेका छन् । ३४ वर्षीय अलराउन्डर पारसले १७ वर्षको क्रिकेट करियरको अन्त्य गरेका हुन् ।

एक दशक बढी नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै आएका सफल खेलाडी पारसले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटसँग सधैं जोडिएर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । खासगरी क्रिकेटको व्यवस्थापकीय तहमा रहेर काम गर्न इच्छा रहेको पनि बताएका थिए ।
पारसले सन् २००४ मा १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए । उनले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology