देवदह । देवदह नगरपालिकाको बेरुजू २० करोड नाघेको छ । गतवर्षसम्म रु.१६ करोड ४ लाख ९४ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७९/०८० लेखा परीक्षणमा थप रू. ४ करोड ४९ लाख ३९ हजार बेरूजू देखिएपछि बेरूजू रु.२० करोड ५४ लाख ३३ हजार पुगेको हो ।
गत वर्षको लेखा परिक्षणमा असुल गर्नुपर्ने रू. ४ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.८४ लाख ६१ हजार, नियमित गर्नुपर्ने रु. ३ करोड १६ लाख ८५ हजार र पेश्की बाँकी रु.४३ लाख ७८ हजार समेत गरि रू. ४ करोड ४९ लाख ३९ हजार रहेको महालेखाको प्रदिवेदनमा उल्लेख छ ।
कैफियत सहितको राय दिंदै महालेखाले देवदह नगरपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतको वित्तीय प्रतिवेदन महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचामा वित्तीय प्रतिवेदन तयार नगरेको जनाएको छ ।
महालेखाको प्रतिवेदनमा देवदह नगर प्रमुखको लागि खरिद गरिएको गाडी बापतको ७५ लाख ६५ हजार र कर्मचारीको लागि खरिद गरिएको ६ वटा मोटरसाइकलको १७ लाख ८ हजार २६७ सैद्धान्तिक बेरुजू देखिएको छ । त्यसैगरी अनुगमन भत्ताको नाममा लिईएको ४ लाख २६ हजार अनियमित बेरुजू भएको महालेखाले उल्लेख गरेको छ ।
महालेखाले टुक्रे योजनामा बजेट विनियोजन भएको, आन्तरिक आय कम रहेको अवस्थामा नगरपालिकाले खाजामा मात्रै ३८ लाख २२ हजार ३०२ खर्च गरेको, नियम विपरित क्याम्पस र प्रहरी चौकीमा बजेट दिइएको, अनुगमन प्रतिवेदन विना नै 'कार्य राम्रो भएको' भन्ने लेखेर अनुगमन भत्ता वितरण गरिएको, कर्मचारीले प्रतिवेदन विना नै तलब र ओभरटाइम भत्ता लिएको, कर्मचारी र जनप्रतिनिधिले भ्रमण प्रतिवेदन पेश नगरेको, सूचना प्रविधि विभागको स्वीकृति विना सफ्टवेयर खरिद गरेको, विद्यार्थी उत्तीर्ण भएको आधारमा हेर्दा देवदहले शिक्षामा गरेको लगानी अनुसार प्रतिफल नआएको, कागजातबिना नै आयोजनाको भुक्तानी दिईएको लगायतका विषय अध्ययन गर्दा नगरपालिकाको सेवा प्रवाह र कार्यसम्पादन सन्तोषजनक नपाइएको टिप्पणी गरेको छ ।
हेर्नुहोस प्रतिवेदनको पूर्णपाठ :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology