देवदह । रुपन्देहीको देवदह नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपना सुनिश्चितता नगर घोषणा भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि देवदह नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा भएको हो।
घोषणा सभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप दिगोपन्ना सुनिश्चितता दुबै घोषणा गर्ने यो जिल्लाकै पहिलो भएको उनले बताए।
देवदह नगरपालिकामा अब कुनै पनि आमाहरूले अकालमा ज्यान गुमाउन नपर्ने तथा आगमी दिनमा पनि स्वास्थ्य क्षेत्रमा अझ फलदायी काम गर्नेमा आफू ढुक्क भएको उनले बताए।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा लगाएतले बोलेका थिए।
त्यस्तै घोषणा कार्यक्रममा १२ वटै वडामा रहेका आधारभुत स्वास्थय सेवा केन्द्र, स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बञ्जाडेले पेश गरेको कार्य प्रगति विवरण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको सङ्ख्या ९ सय ४१ र खोप लगाईएको बालबालिकाको संख्या ९५२ जना रहेको र घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको छ ।
देवदह नगर स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले देवदह नगरपालिका जिल्लामै पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो नगरपालिका बनेको बताए ।
देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उप प्रमुख विद्या लक्ष्मी गुरुङको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक गिरी त्रामुले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology