सुवास आचार्य ,बागलुङ साउन ३२,
बागलुङमा सोमबार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।आइतबार संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका वडा नम्वर १२ की ७० वर्षीया महिलाको सोमबार निधन भएको हो ।
आइतबार संक्रमण पुष्टि भएपछि पोखरा लगेको महिला पुन परिवारले घर ल्याउदै गर्दा पर्वत आइपुग्दा निधन भएको जनार्ईको छ । कोरोनाका कारण जिल्ला मृत्यु हुनेको संख्या ६४ पुगेको छ । सोमबार १ सय ३३ जना कोरोना निको भएको जनाइएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६० रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।कोरोना समुदाय स्तरमा फैलिरहेको बेला नागरिकको लापरवाहीको कारण समस्या सृजना भएको छ । परिवारमा एक जान कोरोना सक्रमित देखिएपछि अन्य सदस्यले परीक्षण गर्न नमानेको कारण कोरोना झन झन बढेको पाइएको छ । पछिल्लो समय गाउँ गाउँमा संक्रमण बढेको छ भने बजार क्षेत्रमा संक्रमितहरु परीक्षण गर्न हिचकिचाएको कारण कोरोना फैलिदै गएको छ ।
परिवारका सदस्यमा कोरोना देखिए अन्यले सावधानी नअपनाएको कारण बागलुङमा सुरु देखि नै कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको छ । परीक्षण गर्न नमान्नेहरुलाई एक दुई दिन भित्रै नयाँ रणनीति बनाउने तयारी गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म संक्रमण रोकथाम गर्न नसकिने उनको भनाइ छ । कोरोना नियन्त्रणका जिल्लामा निषेधाज्ञा कडा पारिए पनि स्थानीय व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पालन नगर्दा र स्वयं जिम्मेवार नबन्दा दैनिक संक्रमितहरु थपिदै गएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology