देवदह । रुपन्देहीको देवदहमा विद्युतीय चार्जिङ्ग स्टेशन सञ्चालनमा आएको छ । देवदह ७ शितलनगरस्थित सोमबारे हाटबजार परिषरमा सोमबारबाट विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको हो ।
सिजी ग्रुपबाट सौजन्य स्वरुप ल्याइएका चार्जिङ मेसिन, देवदह नगरपालिकाको व्यवस्थापन र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा चार्जिङ स्टेशन संचालनमा ल्याइएको हो ।
४० किलोवाट क्षमताको सिसिएस सिङ्गल गन र ३० किलोवाटको थप अर्को सिङ्गल गनको मद्धतले स्टेशनबाट सेवाग्राहीले ईलेक्ट्रीक गाडी (इभी) चार्ज गर्न सक्नेछन् । चार्ज गरेवापत अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।
चार्जिङ स्टेशन शुभारम्भ कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देशभर ईलेक्ट्रिक गाडीको प्रयोग र माग बढ्दो रहेकाले चार्जिङ स्टेशनको अवधारणा अघि सारिएको बताए ।
दैनिक १० वटा सवारी चार्ज गर्नेगरी हाललाई व्यवस्थापन गरिएको स्टेशनबाट मासिक ३ लाख आम्दानी लिने लक्ष्य राखिएको प्रमुख खरेलले जानकारी गराए । खरेलले भने ‘अहिलेलाई दुईवटा मेसीन राखिएको छ । थप दुई वटा चार्जिङ मेसिन जोड्ने योजनामा नगरपालिका रहेको छ ।’
हाल स्टेशनबाट ठुला प्रकृतिका गाडी मात्र चार्ज गर्न सकिने भएपनि निकट भविष्यमा इलेकिट्रक अटोहरु समेत चार्ज गर्न मिल्ने गरी व्यवस्था मिलाईने प्रमुख खरेलले जनाए ।
चार्जिङ स्टशेनबाट हाललाई एकपटकमा २ वटा ईलेक्ट्रिक गाडी चार्ज गर्न मिल्ने र चार्जमा लगाएका सवारीसाधन १ घण्टाभित्रमा फूल चार्ज हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।
नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र शाखा अधिकृत गंगा प्रसाद पन्थीको संचालनमा भएको शुभारम्भ कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द ठडराई लगायतले बोल्दै नगरपालिकाको पहलमा स्थापना गरिएको चार्जिङ्ग स्टेशन शुभारम्भ भएकोमा खुसी ब्यक्त गरे ।
हाल देशभर ५ सयभन्दा बढी चार्जिङ स्टेशन रहेको र स्थानीय तहले आफ्नै पहल र स्वामित्वमासमेत स्टेशन संचालन गर्नेक्रम बढिरहेको नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयका सागरमणि ज्ञवालीले सेतोमसीलाई बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology