भ्रष्टाचारको शाब्दिक अर्थ लगाउँदा यसलाई विग्रह गरेर हेर्नु पर्दछ । जसमा भ्रष्ट भनेको दुषित वा खराब वा बिग्रेको र आचार भनेको व्यवहार वा चालचलन वा चरित्र भन्ने हुन्छ। भ्रष्टाचार भनेको गैरकानूनी आधारमा आर्थिक लाभ गर्नु वा त्यस्तो लाभ गर्ने उद्देश्यले गरेका अनियमित कारवाही हो । कुनै व्यक्तिले कानूनी सीमा बाहिर गएर आर्थिक लाभ गर्दछ भने त्यो भ्रष्टाचार हो । अनैतिक आचरण तथा सामाजिक मूल्य र मान्यताको सीमाको अति आचरण तथा सामाजिक मूल्य मान्यताको सीमाको अतिक्रमण गर्नु पनि भ्रष्टाचार नै हो।नीजि फाइदाको लागि सार्वजनिक शक्तिको दुरुपयोग भयो भने त्यसलाई भ्रष्टाचार भनिन्छ ।
भ्रष्टाचार गर्ने व्यक्तिलाई भ्रष्टाचारी भनिन्छ । भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग मात्रै होइन राष्ट्रियता पनि हुँदैन । भ्रष्टाचारीको कारणले देशको अर्थतन्त्र ध्वस्त हुन सक्दछ । जसरी एउटा घरमा धमिरा लाग्यो भने त्यो घरबाट धमिराको अन्त्य नभएमा उक्त घर ध्वस्त हुने निश्चित हुन्छ त्यसरी नै देशको अर्थतन्त्र मजबुद बनाउन पनि भ्रष्टाचाररुपी धमिराहरुको अन्त्य हुनु नै पर्दछ । खासगरी भ्रष्टाचारमा सार्वजनिक पद धारण गर्ने पदाधिकारीले आफ्नो पद, शक्ति र अधिकार सार्वजनिक सरोकारका गतिविधिमा नलगाई व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग गरेको हुन्छ।जसले व्यक्ति परिवार र समग्र राष्ट्रलाई नै खोक्रो पारेको हुन्छ र दीर्घकालमा यसले सामाजिक जीवनपद्धतिमा प्रतिकूल प्रभाव पार्दछ । हाम्रो जस्तो विकासशील राष्ट्रमा भ्रष्टाचार सामान्य होइन कि ज्यामितीय रुपमा नै फैलिएको छ । भ्रष्टाचारलाई विश्वको प्रमुख समस्या मध्ये एउटा समस्या मानिएको पाइन्छ । भोक र कुपोषण पछि संसारको तेस्रो ठूलो समस्या भ्रष्टाचारलाई मानिएको छ।सुशासनको अभाव र सर्वव्यापी भ्रष्टाचार गरिबीका प्रमुख दुई सत्रु हुन् भन्ने गरिन्छ ।
भ्रष्टाचारका कारणहरुः
भ्रष्टाचारका कारणहरु धेरै हुन सक्छन् । ती मध्ये केही कारणहरुमा पारिवारिक आधारभूत खर्च भन्दा आम्दानी थोरै हुनु, आम्दानी थोरै तर देखासिकी गर्नु, उच्च जीवनस्तर देखाउने र प्रतिष्ठित व्यक्ति कहलाउने लालसा हुनु, नैतिक शिक्षाको अभाव र उत्तरदायित्वको भावना नहुनु, गरिबी बेरोजगारी महङ्गीको समस्याले दैनिक जीवन चलाउन मुस्किल हुनु, भ्रष्टाचारीहरुलाई कडा दण्ड सजाय नहुनु, प्रचलित नियम कानूनको कडाईपूर्वक कार्यान्वयन नहुनु आदि रहेका छन् ।
भ्रष्टाचारका तरिकाहरुः
भ्रष्टाचार विभिन्न तरिका वा माध्यमबाट हुने गरेका भेटिन्छन् । ती मध्ये केही भ्रष्टाचार हुने तरिकाहरुमा (१) सार्वजिनक पद, अधिकार तथा हैसियतको दुरुपयोग गर्नु, (२) स्थापित मान्यता वा प्रक्रिया विपरितको क्रियाकलाप गर्नु, (३) कर्तव्य पालनामा लापरवाही गर्नु र (४) व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक सम्पत्तिको प्रयोग गर्नु जस्ता कुराहरु प्रमुख रुपमा रहेका हुन्छन् ।
संवैधानिक र कानूनी व्यवस्थाः
भ्रष्टाचारको निवारण वा नियन्त्रणको सम्बन्धमा पहिले देखिनै नेपालको संविधान र कानूनमा समेत व्यवस्था गरिएको छ।२०७२ सालमा जारी भएको नेपालको संविधानको भाग २१ अन्तर्गत धारा २३८ मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान गर्न वा गराउन एक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन सम्बन्धी व्यवस्था रहेको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ विषेश कानूनको रुपमा क्रियाशिल रहेको छ।संवैधानिक व्यवस्था तथा प्रचलित ऐन कानूनको अधिनमा रही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै भ्रष्टाचारजन्य कार्य गरेमा सो को अनुसन्धान र तहकिकात गरी विषेश अदालतमा मुद्दा दायर गर्ने कार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने गर्दछ ।
अन्तराष्ट्रिय रुपमा हेर्दा भ्रष्टाचारको सम्बन्धमा नेपालको अवस्था अत्यन्तै दर्दनाक र लाजमर्दो नै छ । भ्रष्टाचारको बारेमा अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१८ को प्रतिवेदनमा नेपालको स्थान १२४ रहेकोमा सन् २०१९ मा १८३ मुलुकहरु मध्ये नेपालको स्थान ११३ मा रहेको थियो । सन् २०२० र २०२१ मा समान रुपमा नेपाल ११७ स्थानमा रहेको सूचकाङ्कले देखाएको थियो । सन् २०२२ मा नेपालको अवस्था केही सुधार भई ११० स्थानमा रहन सफल भएको र सन् २०२३ को प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार निवारणको क्षेत्रमा थप सुधार गर्दै १०८ स्थानमा पुग्न सफल भएको छ ।आगामी वर्ष कुन स्थानमा नेपाल पर्दछ सो को आधारमा सुशासन कस्तो रह्यो भन्ने बारेमा विश्लेषण गर्न सकिन्छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ ले राष्ट्रसेवकले आफ्नो ओहदाको काम वापत कानूनी पारिश्रमिक बाहेक अरु रिस्वत लिएको, कामकाजसँग सम्बन्ध भएको व्यक्तिसँग विना मोल वा कम मोलमा मोल वस्तु लिएको विषयदेखि गैरकानूनी लाभ वा हानि पुर्याउने बदनियतले काम गरेको गलत अनुवाद गरेको, प्रश्न पत्रको गोपनियता भङ्ग गरेको, गैरकानूनी व्यापार व्यवसाय गरेको, नपाएको ओहदा वा सुविधा पाएँ भनेको र सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गरेको वा मासेको समेतका विभिन्न विषयहरुलाई भ्रष्टाचार अन्तर्गत समाविष्ट गरेको छ ।
भ्रष्टाचारीको हैसियतः
भ्रष्टाचारलाई आफ्नो हैसियत ठान्ने भ्रष्टाचारीहरुले ऐन कानून बमोजिम कसूरको अनुसन्धान गर्ने निकायलाई समेत आफ्नै हैसियत र दृष्टिकोणको चस्माले हेरेको पाइन्छ र तिनीहरुले नै मिडियाहरुमा नकारात्मक प्रचारवाजी गराउन उद्धत रहेका देखिन्छन् । अनुसन्धानात्मक निकायलाई आफ्नो प्रभावमा पार्ने, अनुसन्धानलाई रोक्ने, राजनीतिक आस्थाका आधारमा आफ्ना कार्यकर्ता भर्ती गरी अनेक बखेडा झिक्ने जस्ता असहिष्णु क्रियाकलाप गरी भ्रष्टाचारीहरुले कानून समेत बदल्न सक्छन् । भ्रष्टाचारको कारणले गर्दा सामाजिक, राजनीतिक, नैतिक, धार्मिक आदि क्षेत्रहरुमा विसङ्गतीहरु देखा परेका हुन्छन् ।व्यापारीको प्रलोभन, कर्मचारीको छलछाम र राजनीतिक नेतृत्व वा जनप्रतिनिधिहरुको कुचेष्टाबाट भ्रष्टाचारको बिजारोपण हुने र तीनै तत्वको संरक्षणबाट भ्रष्टाचारले संस्थागत हैसियत बनाउने गर्दछ ।
नेपालको अवस्थाः
संसारका प्रायः सबै राष्ट्रहरुको साझा समस्या जस्तै बनेको भ्रष्टाचार नेपालमा पनि प्रमुख समस्याको रुपमा रहेको छ । भ्रष्टाचार निवारणार्थ विगत देखिनै सरकारले संरचनात्मक सुधार गर्दै अनेक प्रयास गर्न खोजेको देखिन्छ । खासगरी अघिल्लो प्रचण्ड सरकारले भ्रष्टाचार नियन्त्रण गर्नको लागि सुशासन कायम गराउने नीति लिएर केही आशाको सञ्चार गरेको थियो । तर राजनीतिक अस्थीरता, कर्मचारीतन्त्र एवम् सामाजिक क्षेत्रको कमजोर भूमिकाको कारण अपेक्षित सफलता प्राप्त गर्न भने सकेन । वर्तमान सरकारले भ्रष्टाचार निवारण सम्बन्धी नीति समेत ल्याउन सकेको देखिदैंन । बरु अघिल्लो सरकारले गरेका सुशासनका प्रयासहरुलाई अनेक तवरबाट रोक्न खोजेको देखिन्छ । यस्तो कार्यले गर्दा भ्रष्टाचारीहरुको शीर ठाडो भएको र भ्रष्टाचारीहरुले नीति निर्माण तहमा समेत प्रत्यक्ष प्रभाव पारेको कुरा सरकारको जिम्मेवारीमा बसेकाहरुबाटै व्यक्त भईरहेको देखिन्छ ।
संसारका प्रमुख समस्या मध्ये तेस्रो स्थानमा पर्ने भ्रष्टाचारलाई निवारण मात्रै होइन निर्मूल नपारेसम्म देशको अर्थतन्त्र सबल र समृद्ध हुन सक्दैन । भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग नहुने हुँदा राष्ट्रप्रेमी देशभक्त तथा सक्षम नेतृत्वले निर्मम भएर भ्रष्टाचारको अन्त्य गर्न प्रण गर्नु पर्दछ ।
अन्तराष्ट्रिय रुपमा हेर्दा भ्रष्टाचारको सम्बन्धमा नेपालको अवस्था अत्यन्तै दर्दनाक र लाजमर्दो नै छ । भ्रष्टाचारको बारेमा अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१८ को प्रतिवेदनमा नेपालको स्थान १२४ रहेकोमा सन् २०१९ मा १८३ मुलुकहरु मध्ये नेपालको स्थान ११३ मा रहेको थियो । सन् २०२० र २०२१ मा समान रुपमा नेपाल ११७ स्थानमा रहेको सूचकाङ्कले देखाएको थियो । सन् २०२२ मा नेपालको अवस्था केही सुधार भई ११० स्थानमा रहन सफल भएको र सन् २०२३ को प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार निवारणको क्षेत्रमा थप सुधार गर्दै १०८ स्थानमा पुग्न सफल भएको छ ।आगामी वर्ष कुन स्थानमा नेपाल पर्दछ सो को आधारमा सुशासन कस्तो रह्यो भन्ने बारेमा विश्लेषण गर्न सकिन्छ ।
अन्त्यमा, भ्रष्टाचार हरेक देशको विकासको लागि अत्यन्तै नराम्रो क्यान्सर जस्तो रोग हो । संसारका प्रमुख समस्या मध्ये तेस्रो स्थानमा पर्ने भ्रष्टाचारलाई निवारण मात्रै होइन निर्मूल नपारेसम्म देशको अर्थतन्त्र सबल र समृद्ध हुन सक्दैन । भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग नहुने हुँदा राष्ट्रप्रेमी देशभक्त तथा सक्षम नेतृत्वले निर्मम भएर भ्रष्टाचारको अन्त्य गर्न प्रण गर्नु पर्दछ । भएका प्रचलित ऐन कानूनलाई समेत समयसापेक्ष संशोधन गरेर सरकार कडाईपूर्वक कार्यान्वयनमा जोड दिनु पर्दछ।तेरो मेरो भनेर पक्षपातपूर्ण दृष्टिबाट हेर्नु हुँदैन । व्यापारी, कर्मचारी र राजनीतिक नेतृत्व सुध्रिनु पर्दछ । भ्रष्टाचारका कारणहरुको थप पहिचान गरी त्यसको समाधान खोज्नु पर्दछ । तबमात्र देशले हरेक क्षेत्रमा सकारात्मक गति लिन सक्षम हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology