देवदह । रुपन्देहीको देवदहका विद्यार्थीले यहाँका विद्यालयलाई उत्पादन केन्द्र बनाउने उद्धोष गरेका छन् । विद्यालयमै अर्गानिक वस्तु उत्पादन गरेर पढ्दै कमाउदै गर्न सकिने धारणासहित उनीहरूले विजनेश प्लान प्रस्तुत गरेका छन् ।
समृद्ध समुदाय विकास केन्द्रले देवदहमा संचालन गरेको हरित युवा उद्यम सम्बन्धी तीनदिने बन्द प्रशिक्षणको अन्तिम दिन बुधबार यहाँ कक्षा १२ सम्म अध्यापन हुने नौ वटा विद्यालयका २७ जना विद्यार्थी सहित ४० जना युवाले आफूहरूले देशमै सम्भावना देखेको बताए । विदेशको विकल्प देश रहेको र आफूहरूले देशमै हरित उद्यममा सम्भावाना देखेको उनीहरूले बताए । विद्यालयमै फूल खेती, च्याउ खेती, जैविक मल उत्पादन र दुना टपरी उद्योग जस्ता ससाना उद्यम गर्न सकिने र त्यसले दिने उत्पादनले विद्यार्थीले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उनीहरूको बुझाई छ ।
प्रशिक्षणको समापन समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले विद्यार्थीको योजनामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । विदेशमा नेपालीले सुख मात्र नभइ दुःख र पिडा पनि उत्तिकै भोग्नु परेको बताउदै उनले देशमै उद्यम गर्नु नै उत्तम हुने बताए । हरेक युवामा यो देशमा केही गर्ने हुटहुटी भएमात्र देश समृद्ध बन्ने विचार व्यक्त गर्दै देवदह- ५ का वडा अध्यक्षसमेत रहेका नगर प्रवक्ता डुम्रेले युवाले देख्ने सपना नै देशको भविष्य भएको विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै युवा तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रीय संस्था गो जेब्रा डेनमार्ककी निर्देशक लि मेथै जेन्सनले डेनमार्कका युवाभन्दा नेपालका युवा सृजनशील र छिटो सिक्न सक्ने आफूले पाएको बताइन् ।
प्रशिक्षणको आयोजक संस्था समृद्ध समूदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले देशमै सम्भावना खोज्ने युवाशक्तिको कमी हूनु दुखद भएको बताए । देशमै उद्यम गर्न सकिन्छ र यो कठिन अवस्थाबाट समृद्धि तर्फ देशलाई लैजाने सक्ने शक्ति युवा नै भएको उनले बताए । हरित उद्यमशीलता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले स्थानीय स्रोत र साधनको प्रयोगबाट नै वातावरणमैत्री बस्तु र पदार्थ उत्पादन गर्नु पर्नेमा जोड दिए ।
संस्थाका निर्देशक युवराज चापागाईंले वातावरणमा भएको प्रदूषणको प्रभाव हाम्रो हिमाली क्षेत्रमा देखिएको बताए । "मुगुमा लामखट्टे पुगिसक्यो ।" उनले भने, "सेता हिमाल हिउँ पग्लिएर कालै भएका छन । हाम्रो पर्यावरण र हाम्रा हिमाल जोगाउन पनि हरित उद्यमको विकल्प छैन ।"
बन्द प्रशिक्षणको सोमबार एक कार्यक्रम बीच लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराईले प्रशिक्षणको उद्घाटन गरेका थिए ।
प्रशिक्षणको पहिलो दिन हरित उद्यममा काम गरिरहेका तीन जना उद्यमीले आफ्नो अनुभव संगै विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । केराको थामबाट पुनः प्रयोग गर्न सकिने र वातावरण मैत्री सेनेटरी प्याड, सारी लगायतका बस्तु उत्पादन गर्दै आएका युवा उद्यमी सन्दिप सापकोटाले सहभागिहरुसंग आफ्ना अनुभव र भोगाई सुनाएका थिए । त्यसैगरी गड्यौलाको प्रयोग गरी प्राङ्गारिक मल बनाइरहेका युवा उद्यमी हरी भण्डारी र वनमा खेरजाने पातहरुबाट दुना, टपरी बनाएर विक्री वितरण गर्दै आएकी महिला उद्यमी दया दर्लामीले आ–आफ्ना अनुभवसंगै सहभागीले सोधेका जिज्ञासाको जवाफ दिएका थिए । डिजिटल पत्रिका सेतोमसी डटकमका कार्यकारी सम्पादक पवन पौडेलले सहजीकरण गरेको प्यानल डिस्कसनमा बोल्दै उनीहरूले राज्यका निकायले सामान्य सहयोग गर्ने हो भने हरित उद्यमको क्षेत्रमा अधिक सम्भावना रहेको बताएका थिए ।
देवदह नगरपालिकासँगको समन्वयमा सञ्चालित कार्यक्रमका लागि स्कुल लाइफ नेपाल, डेनमार्कले आर्थिक सहयोग गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology