रुपन्देही । भैरहवामा जारी २५ औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट युनिटले विजयी सुरुवात गरेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीमाथि ७ विकेटको फराकिलो जित निकालेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ७० रन बनाउँदै सहजै जित हात पारेको देवदहको जितमा दीपक डुम्रेले २४ र संकेत भट्टराईले २३ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका आकाश केवट र मोहम्मद मोइनले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा २८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ६७ रनको सामान्य योगफल तयार पारेको थियो । ग्लोबलका लागि संदीप सिंहले १९, प्रभाश गैरेले १२ र सुजन रानाभाटले ११ रन बनाए । साई ग्लोबलका ५ खेलाडी शून्य रनमै आउट हुँदा टिम सामान्य योगफलमा समेटिन पुग्यो ।
बलिङ तर्फ देवदहका रोशन गौतमले १० ओभरमा ४ मेर्डन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । यस्तै, सुरज खड्काले ३ र अर्जुन रायमाझीले २ विकेट हात पारे । खेलमा देवदहका रोशन गौतम पेलेयर अफ द म्याच घोषित भए ।
सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि संचालन हुनेछन् ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology