लिसबन । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले पोल्याण्डलाई ५-१ गोलअन्तरले हराएको छ । योसँगै पोर्चुगल यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो। ५९ औं मिनेटमा राफायल लियोले पोर्चुगललाई अग्रता दिलाए ।
त्यसपछि आर्सनलका डिफेन्डर जाकुब किवियोरले डीबक्स भित्र फल हानेपछि पोर्चुगलले पेनाल्टी पायो । रोनाल्डोले सहजै त्यसलाई गोलमा परिणत गरे ।
८० औं मिनेटमा ब्रुनो फर्नान्डेजले टोलीका लागि तेस्रो गोल गरे । तीन मिनेटपछि रोनाल्डोले पेड्रो नेटोका लागि गोलको अवसर सिर्जना गरे।
टोली ४-० ले अघि रहेका बेला रोनाल्डोले बाइसाइकल किकमार्फत उत्कृष्ट गोल गरे। नेसन्स लिगका ५ खेलमा उनको यो पाँचौं गोल थियो ।
लगत्तै डोमिनिक मार्कजुकले पोल्याण्डका लागि सान्त्वना गोल गरे । जितसँगै पोर्चुगल समूह ए१ बाट विजेताका रूपमा अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology