बुटवल । बुटवल तथा आसपासका क्षेत्रमा ऐतिहासिक बटौली बजार, अंग्रेजलाई परास्त गरेको ऐतिहासिक जीतगढी किल्ला, मानव सभ्यताको उद्गमस्थल रामापिथेकसको अस्थिपञ्जर भेटिएको स्थान (रामापिथेकस पार्क), विभिन्न धार्मिक स्थलहरु सिद्धबाबा धाम, निलकण्ठ बाबा धाम, मुक्तिनाथको झल्कोदिने मुक्तिनाथ धाम, भैरवस्थान मन्दिर लगायतका मठमन्दिरहरु, प्राकृतिक हिलस्टेशनहरु मणिमुकुन्द सेन उद्यान, हिलपार्क, पिस पार्क, शंकनगर बन बिहार, नवनिर्मित सिद्धार्थ केवलकार र लुम्बिनी केवलकार लगायतका पर्यटकीय गन्तव्य रहेका छन् ।
तर यी पर्यटकीय गन्तव्यको समुचित विकास, प्रवद्र्धन र प्रचार प्रसार नहुँदा बुटवकै अस्थित्व संकटमा पर्दै गएको सरोकारवालाले गुनासो गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको औद्योगिक व्यापार मेलाको सन्दर्भमा संघ अन्तरगत गठित टुर एण्ड ट्राभल बस्तुगत समिति र होटल तथा रेष्टुरेन्ट बस्तुगत समितिले सोमबार मेला सचिवालयमा आयोजना गरेको ‘बुटवलका पर्यटकीय सम्पदाहरु : अवस्था र भविश्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यी पर्यटकीय स्थलहरुको विकास र प्रचारप्रसार गर्न सकियो भने बुटवल राम्रो पर्यटकीय गन्तब्य बन्न सक्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बुटवलका पर्यटकीय स्थलहरुको प्रवद्र्धन, विकास तथा प्रचारप्रसार गर्ने र पर्यटकीय स्थलहरुको कनेक्टिभिटी मिलाउन सकियो भने बुटवल राम्रो पर्यटकीय गन्तव्य स्थल बन्ने विश्वास व्यक्त गरे । उनले पर्यटकीय स्थलहरुको कनेक्टिभिटी र एकिकृत संरचना निर्माणमा जोड दिँदै पर्यटकीय गतिविधि बढाउनको लागि सहज यातायातको व्यवस्था मिलाउनु पर्ने भनाई राखे ।
त्यसैगरी होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठले पर्यटन विकाससंग सम्बिन्धित विषयमा धेरै कार्यक्रम भएपनि प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटकीय गन्तव्यको विकास हुन नसकेको बताए । उनले पर्यटकीय क्षेत्रको विकासले यस क्षेत्रको होटल व्यवसायसंगै यससंग जोडिएका अरु पेशा व्यवसायमा समेत ठूलो योगदान पुग्ने भनाई राखे ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन व्यवसाय चलायमान हुँदा होटल रेष्टुरेन्ट मात्रै नभएर अन्य पेशा र व्यवसायलाई पनि चलायमान बनाउने भएकाले यस क्षेत्रको आर्थिक समुन्नतीको लागि पर्यटन प्रवद्र्धनमा जोड दिए । त्यसको लागि यहाँका सबै पेशा र व्यवसायीको एकता हुनुपर्ने उनको भनाइ छ ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका सहकारी, उद्योग, वित्तिय तथा लघुउद्यम शाखा प्रमुख गुणाखर खनालले यस क्षेत्रको पर्यटकीय विकासको लागि स्थानीय सरकार मात्रै नभएर संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा पर्यटकीय क्षेत्रको विकास, कनेक्टिभिटी लगायतका विकास योजना बनाएर काम गर्नुपर्ने भनाई राखे ।
मणिमुकुन्द सेन उद्यान पार्कका अध्यक्ष माधव नेपालले भएका पर्यटकीय क्षेत्रको विकाससंगै नयाँ जेनेरेसनको माग अनुसारका पर्यटकीय विकास योजना बनाउनु पर्ने बताए । उनले अनुसार नयाँ जेनेरेसनको माग अनुसारका प्लानेटोरियम, ट्रि रेष्टुरेन्ट एण्ड लज, ग्लास व्रिज, हिल स्टेशनमा बुटवलबाट देखिने र पर्यटकलाई आकर्षित गर्नेगरी विशिष्ट खालका मूर्ति निर्माण गर्न सकिनेछ ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा मेला कार्यसम्पादन समिमितका उपसंयोजक सुरज भट्टराईले यस क्षेत्रको विकासको लागि पर्यटन विकास अपरिहार्य रहेको बताउँदै पर्यटन विकासका लागि मेलामा मात्रै नभएर त्यसपछिका दिनमा पनि संघले पहल र पैरवी गर्ने बताए ।
कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष टंक पराजुली, पश्चिमाञ्चल बस व्यवसायी प्रालिका सञ्चालक नारायणप्रसाद घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, लुम्बिनी बौद्ध विश्व विद्यालयका डा. दीपक आचार्य, होटल तथा रेष्टुरेन्ट बस्तुगत समितिका उपसभापति तुलसीराम भण्डारी, टुर एण्ड ट्राभल बस्तुगत समितिकी सचिव मञ्जु पुरी गिरी लगायतले भनाई राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology