राजेश पराजुली, पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा संचालन हुने २६ औं संस्करणको पोखरा सडक महोत्सव २०८१ आउँदो पौष १३ देखि हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पौष १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ किलोमिटर क्षेत्रमा उक्त महोत्सव हुने पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष देखी निरन्तर संचालन हुदै आएको उक्त सडक महोत्सव “सडक मै खाउ, सडक मै रमाउँ” भन्ने नाराका साथ यस बर्ष थप परिस्कृति र परिमार्जन गर्न खोजिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।
कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन होस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएको उनले दाबी गरे । समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको अध्यक्ष पौडेलले दाबी गरे ।
पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो यद्यपी नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको निर्वमान अध्यक्ष नरेश भट्टराईले बताए । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको उनले जनाए ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता हुने भएको प्रतियोगिताका संयोजक बिकास भट्टराईले बताए । साथै महोत्सवमा सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिएको उनले जनाए । ' महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेको रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले बताए । रेवान पोखराले आयोजना गर्दै आएको उक्त महोत्सवले पोखराको नयाँ ब्राण्ड नै बनेकोले व्यबस्थापनमा बिषेश ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए । वेलुन फेष्टिभल समेत एकै मितिमा हुने हुदा यस बर्ष उक्त महोत्सवमा थप रोनक हुने उनको भनाई छ । वेलुन फेष्टिभल भने पुष ९ गते देखि १८ गते सम्म हुने भएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै होटल संघ पोखरा नेपालका द्धितिय उपाध्यक्ष गणेशराज पहारीले रेवानले आयोजना गर्ने सडक महोत्सवको अवसरमा संघमा आबद्ध होटलहरुले २० प्रतिशत छुट दिने उद्घोष गरे । पोखरामा आयोजना हुने ठुला मेला र महोत्सव सबै पर्यटन संबद्ध संघ संस्थाले समन्वयमा गर्दै आएको उनको भनाई थियो ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक चौ बहादुर गुरुङले यसपाली लमजुङको कृष्ण चरित्र नृत्य, भोजपुरी नृत्य लगायतका नयाँ सास्कृति कार्यक्रमहरु समावेस गर्ने योजनामा रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology