देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजना र देवदह नगर प्याब्सनको आतिथ्यतामा एकदिने मा.वि. नेपाली शिक्षकहरुको भाषिक कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली भाषाको महत्व, भाषामा देखिएका जटिलताहरु, व्याकरणीय पक्ष, शिक्षण सिकाइमा देखिएका चुनौतीहरु र त्यसको समाधानका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यशालामा नेपाली भाषामा आएका विभिन्न परिवर्तनहरु, नयाँ विशिष्टीकरण तालिका, परीक्षा प्रणाली र मूल्याङ्कन विधिका बारेमा शिक्षकहरुले जिज्ञासा राखे ।
निजी विद्यालयमा अध्यापनरत जिल्ला भरिका ५४ जना नेपाली शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यशालामा लेखक तथा प्रशिक्षक विश्वास पौडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले शिक्षकहरु जति अनुभवी बन्दै गएपनि नयाँ नयाँ प्रविधिको विकास हुँदै गएको हुँदा समय सापेक्ष आफूलाई बदल्दै लैजानु पर्ने बताए ।
उनले शिक्षक वर्गले गरिखाने शिक्षाको साथै आनन्द र खुसी दिने शिक्षा प्रदान गर्नुपर्ने बताए । त्यसको लागि सबैमा स्वजागरण आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष गोपाल बस्याल लगायतले कार्यशालाले शिक्षणकला र सिपको विकास गर्ने हुँदा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।
प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता, कोषाध्यक्ष टिकाराम चापागाईको स्वागत र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology