बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी दिए ।
मेलामा आयोजना गरिएको खुल्ला लोक दोहोरी गित प्रतियोगितामा खस्यौली रोधी क्लव बुटवल प्रथम भएको छ । बुधबार भएको फाईनल प्रतिस्पर्धामा दरवार रोधी क्लव काठमाडौंलाई पछि पार्दै खस्यौली प्रथम भएको हो । प्रतियोगितामा दरवार रोधी क्लव द्वितीय भएको छ । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाग्लुङ समान अंक सहित तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई क्रमशः ७५ हजार, ५० हजार र १८ हजार हजार रुपैंया प्रदान गरिएको छ ।
त्यसैगरी मेलामा आयोजना गरिएको टिकटक प्रतियोगितामा टिकटकर नेत्र न्यौपाने प्रथम, ऊषा खत्री द्वितीय र गणेश सापकोटा तृतीय भएका छन् । उनिहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै मेलामा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि रुपन्देही मणिग्रामका प्रवेश न्यौपानेले प्राप्त गरेका छन् । उपाधि विजेता न्यौपाने नगद ५५ हजार रुपैंया प्राप्त गरेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी दिए । त्यस्तै फस्ट रनर अप पर्वत रानीपानीका पवन अधिकारी र सेकेण्ड रनर अप देवदह ७ का सचिन विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी डान्स च्याम्स अफ बुटवलको उपाधि बुटवल प्रगतिनगरका किरण मगरले प्राप्त गर्न सफल भएका छन् । उनले उपाधि सहित ३५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । फस्ट रनर अप र सेकेण्ड रनर अप बुटवल देवीनगरका जोयना थापा र बुटवल लक्ष्मीनगरकी संजीता मगरले क्रमशः २० हजार तथा १० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ गतेदेखि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिएको मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल, टिकटक प्रतियोगिता सहित विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यूटि प्रतियोगिता गरिएको थियो ।
मेलामा बुधबार आधुनिक गायिका देवीका बन्दना, अस्मिता अधिकारी, आधुनिक गायक महेश काफ्ले, लोक तथा दोहोरी गायिका राधिका हमाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । मेला भोली १८ गते विहिवार सकिनेछ । मेलाको समापनमा उत्कृष्ट स्टल, प्रायोजक लगायतलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार समितिका संयोजक चापागाईले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology