देवदह । देवदह नगरपालिकाले नगर सभाको १५औँ हिउँदे नगर अधिवेशन सम्पन्न गरेको छ। आईतबार आफ्नै सभा हलमा भएको हिउँदे नगर अधिवेशनले नगर प्रहरी ऐन २०७६ को तेस्रो संसोधन २०८१ पारित गरेको छ।
उप प्रमुख विद्या लक्ष्मी गुरुङ बाट प्रस्तुत गरिएको नगर प्रहरी ऐन २०७६ अन्तर्गत तेस्रो संशोधन पारित गरिएको हो। यसैगरी अधिवेशनले नगरपालीकाको नीतिगत निर्णय समेत पास गरेको छ।
चालू आर्थिक वर्षको नगर कार्यपालिकाको बैठक, नगर प्रमुख तथा उप प्रमुखको संयोजकत्वमा भएका सम्पूर्ण बैठकका निर्णयहरु तथा अन्य विभिन्न समिति र बिषयगत शाखाबाट पारित भई सोही बमोजिम कार्यान्वयन भएका निर्णयहरु समेत नगरसभाबाट अनुमोदन गरिएको छ।
अधिवेशनले १४ औँ नगरसभाबाट पारित गरिएका योजना तथा कार्यक्रम संशोधन गरेको छ । नगर सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि नगर प्रमुख र उपप्रमुख सम्बन्धित कार्यक्रम समेत अनुमोदन गरिएको छ।
नगर सभाले १५औँ हिउँदे अधिवेशनमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले उत्पादन वृद्धि गर्नका लागि सिँचाई सहित प्रविधि हस्तान्त्रण गरिएको बताए । उनले नगर अस्पताल, स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिएको समेत उल्लेख गरे । "नगरपालिकाले स्वास्थ्यलाइ महत्व दिदैआएको छ ।" उनले भने, "चालू आर्थिक वर्षमा एक सय ३६ जनालाई ३ सय ७८ युनिट रगत निःशुल्क उपलब्ध गराएका छौं ।"
स्वास्थ्य बीमा मार्फत नागरिक जोड्न सफल भएको बताउँदै नगर प्रमुख खरेलले देवदहमा ६ हजार ५ सय ८६ घर परिवारका १९ हजार ७ सय ७८ जना स्वास्थ्य बीमामा आबद्ध भएको पनि जानकारी दिए।
नगर प्रमुख खरेलले १४ औं नगर सभाबाट आर्थिक वर्ष २०८१/८२ को विनियोजित चार सय १६ वटा योजनाहरु मध्ये तिन सय ८ वटा योजना उपभोक्ता मार्फत सम्झौता गरिएको र सो मध्य ५१ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिए।
१४ औँ नगर सभाले आन्तरिक राजश्व २५ करोड ४६ लाख ८८ हजार उठाउने लक्ष्य लिएता पनि अहिलेसम्म जम्मा २ करोड ५० लाख २५ हजार रुपैयाँमात्र राजश्व संकलन गरिएको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology