इजरायल । इजरायल र हमासबीच १५ महिनादेखिको जारी युद्ध अन्त्यका लागि संघर्षविरामको सहमति भएको छ।
इजरायल र हमासले गाजा युद्ध अन्त्य गर्ने सहमतिसँगै बन्धक रिहाइको पनि सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौतामा पूर्ण र स्थायी संघर्षविराम, गाजाबाट इजरायली सेनाको फिर्ती, र हमासले कब्जा गरेका सबै बन्धकहरूको रिहाइ समावेश रहेको पुष्टि गरेका छन्।
कम्तिमा ६ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने जनाइएको छ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिने उल्लेख छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो द्वन्द्वले निम्त्याएको ‘अत्यधिक पीडालाई कम गर्नु’ पहिलो प्राथमिकता रहेको बताए। साथै, उनले प्यालेस्टिनीहरूका लागि सहयोग आपूर्ति बढाउन राष्ट्रसंघ तयार रहेको बताएका छन्।
घोषणा गरिएको सम्झौता १९ जनवरी अर्थात आइतबारदेखि मात्रै लागू हुने जनाइएको छ। हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीले बुधबार इजरायली हवाई आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा हमला गर्दै करिब १,२०० जनाको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजामा लगेको थियो।
त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सञ्चालन गरेको थियो, जसमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ४६,००० भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गुमाउन पुगेका थिए।
बीबीसीका अनुसार गाजामा ९४ बन्धकहरू हमासको कब्जामा छन्, जसमा ३४ जनाको मृत घोषणा गरिएको दाबि गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology