काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले संसदलाई नजरअन्दाज गरेर अध्यादेश ल्याउनु गलत भएको बताए । मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताए ।
उनले तत्कालीक आवश्यकताको परिपूर्तिका लागि अध्यादेश ल्याउने गरेपनि संसद सुरु हुनुभन्दा केही दिनमात्रै अगाडि अध्यादेश ल्याउनुले संसदलाई नजरअन्दाज गरेको महसुस हुने बताए ।
उनले आर्थिक विकास र सुशासनका लागि अध्यादेश ल्याएने कुरा सरकारका माथिल्लो तहका व्यक्तिहरले भन्ने गरेको भन्दै आपत्ति जनाए । यो अभिव्यक्ति जिम्मेवारी अनुकुलको नभएको उनको दाबी छ । संसदले बनाउने कानुनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? भन्दै प्रश्न गरे ।
संसदबाट कानून बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुनसक्ने कुरा सम्भव नरहेको बताए । प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनैपनि शासन अगाडि बढ्न नसक्ने जिकिर गरे ।
सांसद साउदले भने,’यही बिचमा अध्यादेशहरु आएका छन् । अध्यादेश आउँदाखेरी अध्यादेश दुई सदनको बीचमा जहिले पनि जुनसुकै सरकारले पनि ल्याउनसक्ने कुरा हो । तर यसरी आएको अध्यादेश तत्कालीक आवश्यकताको परिपूर्तिका लागि आउने गर्दछ । के संसदले बनाउने कानुनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ । संसदबाट कानून बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुनसक्ने कुरा सम्भव छैन । प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनैपनि शासन अगाडि बढ्न सक्दैन । कुनैपनि लोकतन्त्र अगाडि बढ्न सक्दैन । यो बाटोमा हामी संवेदनशील हुनुपर्ने, चिन्तनशिल हुनुपर्ने आवश्यकता छ ।’
सांसद साउदले सामाजिक सञ्जालका नाममा जसले जे लेखेपनि हुने, जे गरेपनि हुने प्रवृत्ति आउनु दुःखद् भएको बताए । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको तर नियमन गर्दा सामाजिक सञ्जालको कार्यालय राखेर नियमन सुरु गर्नुपर्ने बताए । समाजको अभिव्यक्तिको स्वतन्त्रतालाई बन्देज लगाउनु नहुने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology