देवदह । देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले कसैको एकल प्रयासले देवदह विकास नहुने बताएका छन् । बुधवार सेतोमसी मिडिया नेटवर्कको कार्यालय उद्घाटनको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै प्रमुख खरेलले कोसेली भवन सञ्चालनसहित देवदहका हरेक विकासका काममा सबैको सहकार्य आवश्यक रहेको बताए ।
‘बहुउद्धेशीय कोसेली भवन सञ्चालनका जटिलता र सम्भावनाको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै नगर प्रमुख खरेलले कोसेली भवनलाई उद्धेश्य अनुरुप सञ्चालन गर्न नगरपालिका तयार रहेको बताए । प्र्रमुख खरेलले भवनको तल्लो तलामा कृषि र पशुजन्य उत्पादनलाई प्राथमिकता दिने र अरु तलामा देवदहमा रहेका अन्य उत्पादन र सेवामुलक संस्थालाई कोठा भाडामा दिनेगरि कार्यविधि बनेको उल्लेख गरे । उनले नगरपालिकाको एकल प्रयासले मात्र कोसेली भवन फुल फेजमा सञ्चालनसम्भव नहुने भएकोले सबैको सहकार्य आवश्यक रहेको बताए ।
‘हामी कार्यविधि बनाएर, सूचना निकालेका छौं । थप सहुलियत दिनपनि तयार छौं । सरहनबारीको सिमिको लागि निशुल्क सटर दिन्छौं भनिरहेका छौं तर कसैले इच्छा नदेखाउँदा समस्या भएको छ ।’ उनले भने, ‘सरकार भनेको नगरपालिका मात्र होइन, यहाँका राजनीतिक दल, संघसंस्था पनि सरकारका अङ्ग हुन् । कोसेली भवन उद्धेश्य अनुरुप सञ्चालन गर्ने हामी सबैको दायित्व हो । सबैले पहल गरौँ ।’
अन्तरक्रियामा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाका कामलाई सकारात्मक रुपमा लिन आग्रह गरे । ‘छोटो समयमा भवनको कार्यविधि बनाएर भाडामा लगाइएको छ । हाल केही संस्थाले कार्यालय सञ्चालन गरेका छन् र कोसेली भवन एउटा महत्वपुर्ण केन्द्रको रुपमा स्थापित हुँदैछ ।’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘कोसेली भवन सञ्चालनका जटिलता हल गर्न र थप सम्भावनाहरुको खोजी गर्न नगरपालिका तयार छ । यहाँका संघसंस्था तथा उद्योग व्यावसायीहरुले पनि यसमा पहलकदमी लिनुहुन अनुरोध गर्दछु ।’
कार्यक्रमको औचित्यबारे बोल्दै सेतोमसी मिडिया नेटवर्कका अध्यक्ष विष्णु पोखरेलले कोसेली भवन सञ्चालनमा जनप्रतिनिधि, स्थानीय संघसंस्था, राजनीतिक दलहरुले आवश्यक पहल लिनुपर्ने बताए । ‘आ–आफ्नो ठाउँबाट सबैले जिम्मा लियौं ।’ देवदह प्रेस क्लबका अध्यक्ष समेत रहेका पोखरेलले भने, ‘सञ्चार माध्यम र पत्रकारले यसमा कति जिम्मा लिनुपर्छ हामी तयार छौं ।’
सेतोमसीले समाचार प्रकाशन प्रसारण मात्र नभएर समसामयिक विषयमा निरन्तर छलफल, अन्तरक्रिया गर्दै आएको उल्लेख गर्दै उनले जिम्मेवार, जवाफदेही र पारदर्शी पत्रकारिता अहिलेको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं १, ३, र ७ का वडा अध्यक्षहरु दिपक नेपाल, यज्ञप्रसाद अर्याल, कृष्णप्रसाद अधिकारी, कोसेली भवन निर्माण समितिका अध्यक्ष मोतिलाल ढकाल, नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिपक न्यौपाने, शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुंगाना, सामुदायिक विद्यालय परिवारका सचिव गोविन्द प्रसाद भुसाल, देवदह आदर्श महुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ, रेडियो देवदहका अध्यक्ष झबिन्द्र पाण्डे, साहित्यकार सरस्वती बस्याल, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरी भण्डारी, उद्योग व्यापार संघ देवदहका अध्यक्ष अमृत फुल्लेल, सहकारी अभियन्ता प्रमोद खनाल, संचारकर्मीहरु यम राना, सुनिल गिरी, निर्मल थापा लगायतले कोशेली भवनलाई दिगो रुपमा प्रभाकारी ढंगले सञ्चालन गर्न सुझाव दिए ।
सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलको सञ्चालन रहेको अन्तरक्रियामा मिडियाका कार्यक्रम प्रमुख रेशम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology