देवदह । रुपन्देहीको देवदहमा संचालित तेस्रो अन्तर विद्यालय स्तरीय उपमेयर छात्रा भलिवल प्रतियोगिताको उपाधि सगरमाथा आवासीय माध्यमिक विद्यालयले जितेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सगरमाथाले देवदह बुद्ध पब्लिक आवासीय माविलाई ३-१ को सेटमा पराजित गर्दै सगरमाथाले उपाधि जितेको हो ।
पहिलो सेट २८-२६ को अन्तरले बुद्ध पब्लिकले हात पारे पनि बाकी ३ सेट २५-१३, २५-१३ र २८-२६ को सेटमा जित्दै सगरमाथाले उपाधी उचालेको हो । दोस्रो उपमेयर कप पनि उठाएको सगरमाथाले तेस्रो उपमेयर कप पनि उठाउदै ह्याटि्रक गर्ने सम्भावनालाई जीवितै राखेको छ।
उपाधि जिते सङ्गै सगरमाथाले नगद ४० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै द्वितीय भएको देवदह बुद्ध पब्लिक आवासीय माविले नगद ३० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै तेस्रो स्थानको लागी देवदह बोर्डिङ स्कुल र केरवानी माध्यमिक विद्यालय बिच भएको खेलमा ३-१ को सेटमा केरवानिलाइ पराजित गर्दै देवदह बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गरे छ। तृतीय स्थान हासिल गरेको देवदह बोर्डिङ स्कुलले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यस्तै सान्त्वना भएको केरवानी माविले नगद १० हजार, शिल्ड, मेडल प्राप्त गरेको नगर खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम ढकालले जानकारी दिए ।
यसैबिच फाइनल खेल अगाडी शनिवार मैत्रीपूर्ण खेल समेत सम्पन्न भएको छ । नगरपालिकाका कर्मचारी र शिक्षकबिच भएको मैत्रीपूर्ण खेलमा कर्मचारीलाई सोझो सेटमा पराजित गर्दै शिक्षक टिम विजेता बन्यो ।
विजेता टिमलाई देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर खेलकुद विकास समितिका संयोजक कमल प्रसाद पाण्डे लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले खेलको माध्यमबाट देवदहलाई अगाडि बढाउने र प्रतिभा प्रफुस्टनको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले कार्यक्रमको समापन समारोहमा धन्यवाद ज्ञापन गर्दै छात्राहरुलाई पनि खेल क्षेत्रमा प्रोत्साहन गर्न प्रतियोगिताले सहयोग पुगेको दावी गरिन् ।
पछिल्लो समय पुरुष मात्र नभएर महिलाहरु पनि खेल क्षेत्रमा प्रवेश गरि देश विदेशमा नाम रोशन गर्न सफल भएको बताइन् ।
कार्यक्रममा देवदह बुद्ध पब्लिकका कृष्णप्रसाद गैरे, सगरमाथा आवासीय माविका कृष्णप्रसाद पौडेल र नगर शिक्षा समितिका सदस्य मित्रलाल न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा बुद्ध पब्लिकका आकृती रोका वेस्ट सर्भर, वेस्ट डिफेन्स बुद्द पब्लिकका आकृती रोका, वेस्ट सेटर सगरमाथाका सम्झना पल्ली, वेस्ट स्पाइकर सगरमाथाका मुना गुरुङ, वेस्ट ब्लकर बुद्द पब्लिकका अर्जु विश्वकर्मा, वेस्ट प्लेयर सगरमाथाका बिष्णु पोख्रेल, अनुशासित खेलाडी देवदह इङलिस बोर्डिङ स्कुलका सिमा थापा सारु, उदयमान खेलाडी बुद्द पब्लिककी नविता तामाङ्ग र उत्कृष्ट कोच सगरमाथाका सुजाता राना छनोट भएको खेलकुद विकास समितिका सदस्य मिलन मास्की रानाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology