काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबिचको आइतवारको खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोल गरे । खेल बराबरीमा सकिएसँगै दुबै टिमले एकएक अङ्क बाँडेका छन् ।
७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यानमार गोलअन्तरका आधारमा शिर्ष स्थानमा छ । फाइनल खेल बुधवार हुनेछ ।
आइतवार साझको खेलमा पहिलो हाफमा २–२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन् । खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अन्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो ।
खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सवित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् । पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।
खेलको ४१औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रोपटक बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology