काठमाडौं । स्पेनिस लालिगाको उपाधि होडमा रहेको बार्सिलोना पुन:शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियो।
शनिबार एट्लेटिको म्याड्रिडले एथ्लेटिक क्लबलाई १-० ले हराएपछि बार्सिलोनाले शीर्ष स्थान गुमाएको थियो। तर १० खेलाडीमा रहेको रियल सोसिडाडलाई हराउँदै पुन शीर्ष स्थानमा फर्किएको हो।
हान्सी फ्लिकको टोलीले सहजै आफ्नो एक अंकको अग्रता पुनः कायम गर्दै लगातार छैटौँ जित दर्ता गर्यो। टाइटल दौडमा बार्सिलोनाका लागि जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबर्ट लेवान्डोव्स्कीले समान १-१ गोल गरे।
नवौँ स्थानमा रहेको सोसिडाडले युरोपा लिगको अन्तिम-१६ मा बिहीबार म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ। उनीहरूले गत नोभेम्बरमा बार्सिलोनालाई १-० ले पराजित गरेका थिए। तर, यस पटक सुरुवातबाटै बार्सिलोनासँग पूर्ण रुपमा दबाबमा रहे।
खेलपछि बार्सिलोनाको २६ खेलबाट ५७ अङ्क भएको छ। एट्लेटिको म्याड्रिडको समान खेलबाट ५६ अङ्क हुँदा रियल म्याड्रिडको ५४ अङ्क रहेको छ। चौंथो स्थानमा रहेको एट्लेटिको क्लबको ४८ अङ्क रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology