रेशम अधिकारी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयमा तीन हप्तासम्म धाउँदा पनि सेवाग्राहीले नागरिकता पाउन नसकेको खुल्न आएको छ । कार्यालयमा अत्यधिक भिड हुने र नागरिकता बनाउँन पनि हप्तौं कुर्न परेको सेवाग्राही बताउँछन् ।

सुनवल नगरपालिका वडा ७ कि पुनम पाण्डे ३ हप्ता देखि आफ्नो पसल बन्दै गरि जिल्ला प्रशासन कार्यालय नवलपरासीमा धाइरहेकीछन् ।उनी पुन: मंगलबार बिहान आठ बजे जिल्ला प्रशासन कार्यालयको लाईन बसिन् । त्यति बिहानै आउँदा पनि आफू पुग्नुपर्ने फाँटमा पुग्न उनले निकै सकस भएको बताउँछिन् । पाण्डेका अनुसार उनले यसरी लाइन लाग्न थालेको ३ हप्ता भैसक्यो तर अझै नागरिकताको प्रतिलिपि पाउने अत्तोपत्तो छैन ।
पहिलो हप्ता जाँदा पालो आएको छैन भनी फर्काइयो । दोस्रो हप्ता टोकन दिइयो र अर्को हप्ता आउन भनियो । तर यो हप्तामा पनि मेरो काम हुन सकेन पाण्डेयले गुनासो गरिन् ।
जिल्ला प्रशासन कार्यालयको ढिलासुस्तीका कारण आफूहरूले समयमा सेवा पाउन नसकेको उनको गुनासो छ । उनका अनुसार आफ्नो मान्छेलाई लाइनमा नबसी भित्र पठाउने, कर्मचारी, ढिला आउने, र कार्यालयको अव्यवस्थितताले गर्दा जनताले सेवा लिन कठिन भएको छ । ‘आफ्नै देशको नागरिक हुँ भनेर प्रमाणित हुन पनि निकै सकस भोग्नुपरेकोमा उनी मन खिन्न भएको बताउँछिन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोरासिंह माझीसँग बुझ्दा कर्मचारी अभावका कारण केही समस्या आएको बताए । पहिले नै कर्मचारी कम भएको र केहि सरुवा भएर आउनुपर्ने नआएकोले सेवाग्राहीलाई असहजता भएको उनको भनाइ छ । "कर्मचारी थोरै छौँ, सकेजतिको गरिएकै छ, गर्दागर्दै पनि सम्भव भैरहेको छैन" उनले सेतोमसीसंगको कुराकानीमा भने ।
कर्मचारी ढिलो आउने तथा पहुँचका आधारमा काम हुने सेवाग्राहीको आरोप भने प्रशासन कार्यालयले स्वीकार गरेन । "सेवाग्राहीको काम ढिलो भएपछि उहाँहरूलाई त्यस्तो लागेको हुनसक्छ तर उपलब्ध कर्मचारीले इमानदार प्रयास गरिरहेका छन्" सूचना अधिकारी माझीले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology