काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आन्तरिक रोजगारीको सिर्जना गर्न सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममै रोजगारी प्रवद्र्धन दशक घोषणा गरेको उल्लेख गर्दै यो लगानी र रोजगारी अभिवृद्धि दशक हुने बताए ।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा उद्यमशीलता र आधुनिकीकरणमार्फत सोँचेभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । नेपालमा काम अनुसारको पारिश्रमिक नपाउँदा श्रमिकहरु विदेश गइरहेका कारण श्रम बजार र पारिश्रमिकबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको उनले औल्याए ।
‘हामीले अहिले उद्यमशीलतामा जोड दिनुपर्छ । हाम्रो अहिलेको फोकस भनेको उद्यमशीलता हो । उनले भने, ‘हामीले रोजगारी प्रवद्र्धन दशक भनेका छौं । त्यो भनेको उत्पादकत्व वृद्धि दशक हो ।’
‘प्रधानमन्त्रीले सरकार फलाम र तेल खानीको उत्खनन गर्ने तयारीमा रहेको समेत बताएका छन् । फलाम खानीमार्फत नेपाललाई स्टिल र फलामजन्य धातुमा आत्मनिर्भर बनाउन सकिने अवस्था छ ।’ उनले भने, ‘श्रम पलायन रोक्दै मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहन्छ ।’ प्रधानमन्त्री ओलीले काम गरेर जीविका चलाउने स्थिति नभएका कारण श्रमिक पलायन बढिरहेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology