देवदह । रुपन्देहीको देवदहमा रोहिणी मिल्क हाउस सञ्चालनमा आउने भएको छ । ९ वर्ष कोरियामा रोजगारी गरेर फर्किएका रामचन्द्र पौडेलको नेतृत्वमा ५० लाख बढीको लगानीमा मिल्क हाउस संचालनमा ल्याइएको हो ।
"सुरुदेखि नै नेपालमै लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हिजोका दिनमा आर्थिक अभावले वैदेशिक रोजगारमा जान बाध्य भइयो । अहिले केही लगानी जुटाएर मिल्क हाउस सुरु गरेको हुँ ।" संचालक पौडेलले सेतोमसीसंग भने, "यस क्षेत्रमा रहेका दुग्ध उपभोक्तालाई गुणस्तरीय दुध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्धेश्यले मिल्क हाउस संचालनमा ल्याइएको हो ।"
संचालक पौडेलले आफुसंग आजभन्दा ९ बर्ष अघि देवदह दुग्ध उत्पादक सहकारी संस्थामा करिव १० बर्ष कर्मचारीको रुपमा काम गरेको अनुभव पनि भएको हुनाले दुग्ध क्षेत्रमै लगानी गरेको बताए ।
देवदहमा करिव ५ हजार लिटर दुध उत्पादन हुने बताउँदै उनले रोहिणी मिल्क हाउसले सुनवल, बुटवल, रोहिणी, ओमसतिया र तिलोत्तमा लगायतका क्षेत्रबाट दुध संकलन र विक्री वितरण गर्ने योजना बनाएको बताए । "हाम्रो मुख्य ध्यान भनेकै क्वालिटी हो, फ्रिजमा राखेर विक्रि गरिने दुधमा उचित तापक्रम व्यवस्थापन हुँदैन । त्यसले दुधको गुणस्तरलाई समेत घटाईरहेको हुन्छ ।" उनले भने, "हामीले दुध र दुग्ध जन्य पदार्थको गुणस्तर कायम गर्न चिलिङ्ग भ्याट, इलेक्ट्रिक व्याच पास्चराईजर मेसिन, हुमनाइजर मेसिन, एजिङ्ग ट्याङ्क लगायत अत्याधुनिक मेसिनको प्रयोग गरेका छौं ।"
५० लाख रुपैंयाभन्दा बढि लगानीमा सञ्चालन गर्न लागिएको मिल्क हाउसले भविष्यमा छिमेकी बजारहरुमा समेत संकलन र विक्रि केन्द्र राख्ने योजना रहेको हाउसका अर्का संचालक गोमा ज्ञवालीले जानकारी दिइन् । ज्ञवालीका अनुसार मिल्क हाउसमा दुध, दही, नौनी, ध्यू, पनिर, खोवा, कुल्फी, आईसक्रिम लगाएतका सामग्रिहरु उपलब्ध हुनेछन् ।
देवदह ५ खैरेनीमा सञ्चालनमा आउन लागेको मिल्क हाउसको बुधवार देवदह नगरपालिकाका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ्गले उद्घाटन गर्ने कार्यक्रम रहेको हाउसका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology