काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा आँखा उपचारमा विशिष्टता हाँसिल हुनु गौरवको विषय भएको बताएका छन् । आईतवार मन्त्रालयमा आँखा परीक्षणसम्बन्धी कार्यक्रमका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तिलगंगा आँखा अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले आँखाको लेन्स उत्पादन र उपचार विधिमा नेपालका सन्दुक रुइतको नाम विश्व विख्यात बनेको बताए । उनले तिलगंगाले विकास गरेको आँखाको लेन्स र उपचार विधि नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा समेत विश्वसनीय बनेको बताए ।
पौडेलले डा.रुइतले गरेको कामलाई राज्यले थप बिस्तार गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमकै रुपमा बजेट विनियोजन गरेर काम अगाडि बढाउन आपूmले सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए ।
विभिन्न कारणले दृष्टि गुमाएका व्यक्तिहरुका लागि डा.रुइतको नेतृत्वमा तिलगंगा आँखा अस्पतालले लेन्स विधिमार्फत उपचार गर्दै आएको छ । कम शुल्कमा उपचार गर्ने विधिका कारण डा.रुइतले आविष्कार गरेको लेन्सको माग विश्वभरबाट आएको बताइएको छ । सरकारको सहयोगले लेन्स उत्पादनको दायरा बढ्ने अस्पतालको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology