काठमाडौँ। देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात पर्न सक्ने सम्भावना रहेको छ। साथै, केही स्थानमा चिसो बढ्ने अनुमान गरिएको छ।
यस मौसमी स्थितिले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा केही असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ। नागरिकलाई मौसम परिवर्तनअनुसार सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology