काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्र ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले रोजगारी सिर्जना तथा वन व्यवस्थापनसम्बन्धी योजनाहरूबारे जानकारी गराए।
राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम, जलाधारमा आधारित जीविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनलाई उत्पादनशील बनाउने सरकारको योजना छ। बाँझो जमिनलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गरिने दाबी गरिएको छ।
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जंगली जनावरलाई वनभित्रै बस्न अनुकूल वातावरण बनाउने योजना रहेको मन्त्री ठकुरीले बताए। जलवायु परिवर्तनका कारण आउने विपद् न्यूनीकरण गर्न खोला तथा नदी किनार व्यवस्थापनलगायतका कार्य भइरहेको उनको भनाइ छ।
विगतमा पनि सरकारहरूले यस्तै किसिमका रोजगारी सिर्जना कार्यक्रम घोषणा गरेका थिए, तर ती कत्तिको प्रभावकारी भए भन्ने प्रश्न उठिरहन्छ। यो पटक सरकारले लक्ष्यअनुसारको परिणाम निकाल्न सक्छ कि सक्दैन, समयले देखाउनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology