काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाहरूको विशाल भण्डार भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालका भौगोलिक विविधता, जातजाति, समुदायहरूको सामाजिक-सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले देशलाई कथाहरूको भण्डार बनाएको बताएका हुन्।
उनका अनुसार नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। 'कथालाई चलचित्रमार्फत प्रस्तुत गरेर विश्वलाई नेपालको पहिचान दिन सकिन्छ। चलचित्र सबैभन्दा उपयोगी माध्यम हो,' उनले भने। चलचित्र मनोरञ्जनको साधन मात्र नभई सामाजिक परिवर्तनको गतिशील माध्यमसमेत भएको उनको भनाइ छ।
'नेपाली चलचित्र मानव सभ्यताको अद्भुत सिर्जना हो।' उनले भने, 'यसले सारा विश्वलाई जोड्ने शक्ति राख्छ।' कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र समाजको दर्पण भएको उनको धारणा छ।
अध्यक्ष दाहालले इतिहासका महत्वपूर्ण परिवर्तनहरू चलचित्रमार्फत अभिलेख गरिएको उल्लेख गर्दै चलचित्र समाजको पथप्रदर्शक बन्न सक्नुपर्ने बताए। उनले नेपालमा चलचित्र क्षेत्रका अपार सम्भावना रहेको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology