काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका ऊर्जामन्त्री भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । उनले भ्रष्टाचारमा सबभन्दा बढी संलग्न व्यक्तिलाई ऊर्जामन्त्री बनाइएको भन्दै आक्रोश पोखे।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी अभियान अन्तर्गतको जागरण सभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड ऊर्जामन्त्रीमाथि खनिए। उनले सरकारले दक्षता र इमानदारिताभन्दा पनि भ्रष्टाचारमा संलग्नलाई प्राथमिकता दिएको आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका नेता दीपक खड्का ऊर्जामन्त्री छन्। प्रचण्डले खड्काको नाम नलिईकनै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै भने, "जो सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न छ, उसैलाई ऊर्जा मन्त्रालय दिएको छ। अझै लुट भनेर!"
यद्यपि उनले उर्जामन्त्रीले कहाँबाट कसरी कति भ्रष्टाचार गरे भनेर केही उल्लेख गरेनन्।
उनले योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने तर्क गर्दै भने, "स्वास्थ्यसम्बन्धी ज्ञान भएकालाई स्वास्थ्यमन्त्री, शिक्षाबारे जानकारलाई शिक्षामन्त्री बनाइनुपर्छ। तर अहिले त ठीक उल्टो भएको छ।"
प्रचण्डले वर्तमान सरकारले राम्रो काम गर्नेहरूलाई निरुत्साहित गरिरहेको आरोपसमेत लगाए। "जो इमानदार छन्, तिनलाई दबाउने, सताउने काम भइरहेको छ," उनले भने।
यस्तो अवस्थाको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको प्रचण्डको धारणा छ। उनले भने, "यदि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आयो भने विज्ञहरू मन्त्री बन्ने अवसर पाउँछन्। विश्वविद्यालयका प्राध्यापकहरू सरकारमा आउँछन्। अनि मात्र स्थिरता आउँछ, विकास सम्भव हुन्छ, भ्रष्टाचार रोकिन्छ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology