काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्तामा पुगेकाहरूको विकृति र अनियमितताका कारण लोकतान्त्रिक गणतन्त्र बदनाम भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले २०६२/६३ को आन्दोलन आम नागरिकको जीवनस्तर उकास्न र देशमै उद्योगधन्दा स्थापना गरी रोजगारी सिर्जना गर्न भएको स्मरण गराए। तर, सत्तामा पुगेकाहरूले जनताको आशा र भरोसामाथि ध्यान नदिएको आरोप लगाए। नेताहरू दलाल पुँजीपतिहरूको दलालीमा लागेको र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि विभिन्न प्रकारका प्रहार हुन थालेको उनले बताए।
खनालले भने, “हाम्रो देशमा जुन प्रकारको शासनसत्ता छ, त्यसमा कम्युनिस्ट पार्टीको नाम त राखिएको छ, तर तिनीहरू वास्तवमा दलाल पुँजीपतिहरूको दलाली गर्न बाहेक अरू केही गर्दै छैनन्। कमिसनकै खेलका कारण नेताहरू बिक्री भइरहेका छन्। रातारात उनीहरूलाई किनिदिने कमिसनखोरहरूको प्रभावले विकृति र विसंगति मौलाएको छ। यही कारण गणतन्त्र र लोकतन्त्र बदनाम हुँदै गइरहेको छ।”
खनालका अनुसार, २०६२/६३ को आन्दोलन दलाल पुँजीपतिहरूको सेवा गर्नका लागि नभई श्रमिक, किसान र राष्ट्रियताको सुदृढीकरणका लागि भएको थियो। उनले भने, “हाम्रो आन्दोलनको उद्देश्य देशको कृषिलाई आधुनिकीकरण गर्ने, भूमिसुधारमार्फत आम किसानको हित गर्ने, राष्ट्रिय कच्चापदार्थमा आधारित उद्योगधन्दा स्थापना गर्ने र राष्ट्रहितविरोधी गतिविधिहरूको विरुद्ध दृढतापूर्वक अघि बढ्ने थियो। तर, संविधान बनेपछि सत्तामा पुगेकाहरूले ती लक्ष्यप्रति कुनै वास्ता गरेनन्, जसको परिणाम अहिले देशले भोगिरहेको छ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले राज्यसत्तामा बसेकाहरूको नीतिहीनता र अकर्मण्यताका कारण प्रतिगमनकारी शक्तिहरू सक्रिय हुन थालेको बताए। उनले देशलाई आमूल परिवर्तनको दिशामा लैजान र प्रतिगमनकारी तत्वहरूलाई परास्त गर्न तत्काल पहल थाल्नुपर्नेमा जोड दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology