काठमाडौं । तीन प्रमुख दलका शिर्ष नेताहरूबीच सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्कों सर्च कमिटी गठन गर्ने सहमति भएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने निर्णय गरिएको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखकसहित अन्य नेताहरू सहभागी थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सर्च कमिटी गठन प्रक्रिया अघि बढाउने विषयमा परामर्श भएको बताए।
उनले भने, ‘बैठक शान्ति प्रक्रियाको बाँकी काम, अर्थात् सत्य निरूपण तथा बेपत्ता व्यक्तिसम्बन्धी आयोग गठनसँग सम्बन्धित थियो। केही समय अघि गठन भएको सर्च कमिटीले प्रतिवेदन बुझाइसकेको छ। सो प्रतिवेदनलाई बैठकमा छलफल गरियो र निष्कर्ष निकाल्दै नयाँ सर्च कमिटी बनाउने सहमति भयो। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३(३) अनुसार आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने प्रक्रियालाई अघि बढाउने सहमति भएको छ। प्रधानमन्त्रीले तीन दलका नेताहरूसँग परामर्श गरेका छन् र सोही अनुरूप सिफारिस प्रक्रिया अघि बढ्नेछ।’
बैठकमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल तथा माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology