एजेन्सी । इजिप्टको सुएज नहर आर्थिक क्षेत्र (एससीजोन) मा चिनियाँ वित्त पोषित उद्यम सिनफेङ इजिप्टले उत्पादन परिसर निर्माण गर्न भूमि प्रयोग अधिकार सम्झौतामा हस्ताक्षर गरेको छ। मंगलवार भएको सम्झौताअनुसार, सिनफेङ इजिप्टले ऐन सोखना एकीकृत क्षेत्रमा ३.७५ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको उत्पादन परिसर निर्माणका लागि १.६५ अर्ब अमेरिकी डलर लगानी गर्नेछ।
सम्झौता हस्ताक्षर समारोहमा इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबोली, उपप्रधानमन्त्री तथा यातायात तथा उद्योग मन्त्री कामेल अल–वजीर, एससीजोन जनरल अथोरिटीका अध्यक्ष वालिद गमाल एल–देनलगायत उच्च अधिकारीहरू उपस्थित थिए।
पाँच वर्षभित्र दुई चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो उत्पादन परिसरमा नौ कारखाना, ठोस फोहोर प्रशोधन कार्यशाला र अनुसन्धान तथा विकास तथा तालिम केन्द्र रहनेछ। यो उद्योगले मुख्य रूपमा अटोमोबाइल तथा यातायातका पार्टपुर्जा, औद्योगिक मानक पार्टपुर्जा र औद्योगिक गैर–मानक पार्टपुर्जा उत्पादन गर्नेछ।
सिनफेङ इजिप्टका अध्यक्ष तियान हाइकुईका अनुसार, ८ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको यस कम्प्लेक्सले टर्मिनल औद्योगिक उत्पादन निर्माणमा योगदान गर्नेछ। साथै, अटोमोबाइल, इन्जिनियरिङ मेसिनरी र घरेलु उपकरण जस्ता उच्च मूल्य अभिवृद्धि हुने उद्योगहरूलाई प्राथमिकता दिइनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology