देवदह । देवदहमा रामनवमी तथा चैते दशैँ मेला तीन दिनसम्म संचालन हुने भएको छ । कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिले चैत्र २३ देखि २५ गतेसम्म देवदह-४, भवानिपुरमा मेला सञ्चालन गर्न लागेको हो।
परापूर्वकालदेखि सञ्चालन हुँदै आएको भवानीपुरको रामनवमी चैते दशैँ मेला ऐतिहासिक महत्वको मेला हो। सिद्धार्थ गौतम बुद्धको मावली भूमिसँग सम्बन्धित यो क्षेत्र सांस्कृतिक र धार्मिक रूपमा विशेष मानिन्छ। नेपालका रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका दर्जनौं स्थानबाट यो मेलाको अवलोकन गर्न आउने परम्परा रहिआएको छ ।
देवदह नगरपालिका-४ का वडा अध्यक्ष दमननाथ रेग्मीले रामनवमी चैते दशैँ मेला ऐतिहासिक भएरपनि उल्लेख्य प्रचार हुन नसकेको बताए । 'मेलाको प्रचारप्रसार आवश्यक छ।' उनले भने, 'यो पटकको मेला निरन्तर मात्र नभई नयाँ कार्यक्रमहरू थपेर अझ आकर्षक पनि बनाइएको छ।'
मेलामा ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको छ भने ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। ३०० भन्दा बढी व्यवसायीको सहभागितासँगै मेलाले स्थानीय व्यापार प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ।
यस वर्ष मेलामा सांस्कृतिक झाँकी, भजन प्रतियोगिता, स्थानीय हस्तकला तथा कृषि उत्पादन प्रदर्शनी जस्ता नयाँ कार्यक्रमहरू थप गरिएको आयोजक समितिले जनाएको छ। यसले मेलालाई थप आकर्षक बनाउनुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
मेलामा चैत्र २३ गते उद्घाटन समारोहसहित ¥याली, खेलकुद तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। चैत्र २४ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुनेछ भने विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ। अन्तिम दिन चैत्र २५ गते भजन प्रतियोगिता, सम्मान कार्यक्रम, स्थानीय उत्पादन प्रदर्शनी तथा समापन समारोह आयोजना गरिनेछ।
मेला आयोजक समिति अध्यक्ष लिला बल्लभ भट्टराई भन्छन्, “यो मेला हाम्रो पहिचान हो। स्थानीय संस्कृतिको संरक्षण मात्र होइन, व्यापार र पर्यटन प्रवर्द्धनको अवसर पनि हो। पत्रकार मित्रहरूको सहयोगले मेलालाई अझ भव्य बनाउन सकिन्छ।”
इतिहास, संस्कृति र व्यापारको संगम बनेको रामनवमी चैते दशैँ मेला २०८१ यस वर्ष थप आकर्षक कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology