काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण थाइल्यान्डबाट सुरु हुने भएको छ। थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको निमन्त्रणामा भ्रमणको तयारी गरिएको प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री मंगलबार थाइल्यान्ड भ्रमणमा जाँदै छन्। उनले बंगालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने छन्।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रासँग विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले थाइल्यान्ड सरकारसँग केही सम्झौतामा हस्ताक्षर हुन सक्ने र त्यसको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन्।
अप्रिल २ अर्थात चैत २० गते थाइ सरकारले प्रधानमन्त्री ओलीको स्वागतमा विशेष कार्यक्रम आयोजना गर्नेछ। सोही अवसरमा दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता हुनेछ। त्यसपछि नेपाल र थाइल्यान्डबीच पर्यटन, संस्कृति, औषधि, कृषि र शिक्षा क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ। पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा समझदारी हुनुका साथै शिक्षा क्षेत्रमा छात्रवृत्तिसम्बन्धी समझदारी हुने छ। साथै, कृषि व्यापार विस्तार गर्ने र जलवायु परिवर्तन न्यूनीकरणका रणनीतिहरूमा समेत सहकार्य हुने जनाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले नेपाल-थाइल्यान्ड सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै व्यापार, शिक्षा र अन्य विभिन्न क्षेत्रका साझेदारीलाई विस्तार गर्नेछ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन्।
औपचारिक द्विपक्षीय भेटवार्ता सकिएपछि प्रधानमन्त्री ओलीले थाइल्यान्डले आयोजना गर्ने बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। समिटका क्रममा अन्य राष्ट्र प्रमुख तथा प्रतिनिधिसँग साइडलाइन वार्ता र छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्री ओलीले चैत २२ गते समिटलाई सम्बोधन गर्नेछन्। समिटपछि उनी चैत २३ गते नेपाल फर्किने कार्यक्रम छ।
सन् १९९७ मा स्थापित बिम्स्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। थाइल्यान्डमा अप्रिल ३ र ४ मा हुने बिम्स्टेकको सम्पूर्ण तयारी पूरा भएको थाइ सरकारका प्रवक्ता जिरायु हौंगसुबले बताएका छन्। बिम्स्टेक सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरू अप्रिल १ देखि बैंकक आइपुग्नेछन्।
अप्रिल ३ मा थाइ प्रधानमन्त्री सिनावात्राले बिम्स्टेक समिटमा भाग लिन आउने पाहुनाहरूको स्वागतमा विशेष रात्रिभोज आयोजना गर्नेछिन्। समिटको उद्घाटन ३८ वर्षीय प्रधानमन्त्री सिनावात्राले गर्नेछिन्। बिम्स्टेकले २०३० सम्म ‘समृद्ध, लचिलो र खुला क्षेत्र’ निर्माण गर्ने लक्ष्य राखेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology