काठमाडौं । पूर्वपञ्च तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको मंगलबार निधन भएको छ। राजधानीको ओम अस्पतालमा उपचारका क्रममा ७७ वर्षीय बोहराले अन्तिम सास फेरेका हुन्।
कोरोना महामारीका बेला गम्भीर बिरामी परेका उनी त्यसयता घाँटीसम्बन्धी समस्याबाट पीडित थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित बोहरा बोल्न नसक्ने अवस्थामा पुगेका थिए। यही कारण उनले प्रतिनिधिसभामा एकपटक पनि बोलेनन्।
राजनीतिक यात्रा हेर्ने हो भने उनी पञ्चायतकालमा ५ पटक र गणतन्त्रपछि ४ पटक गरी ९ पटक मन्त्री बने। २०३८ सालमा पर्यटन राज्यमन्त्री हुँदै सहायकमन्त्री बनेका उनले २०४०, २०४३ र २०४४ सालमा पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले। गणतन्त्रपछि २०६७ मा बन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ मा आपूर्ति मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रहेका बोहरा २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य बने। त्यसपछि २०४२ सालमा पुनः पञ्चायत सदस्य निर्वाचित भए। २०६४ सालको संविधानसभा चुनावमा पराजित भए पनि २०७० मा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य बने। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
स्वास्थ्य समस्या गहिरिँदै गएपछि पछिल्लो समय उनी पार्टी राजनीतिमा खासै सक्रिय रहेनन्। चार दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका बोहराको निधनले राप्रपाले अनुभवी नेतृत्व गुमाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology