काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाप्रति संसदीय समितिको ध्यानाकर्षण नहुँदा आपत्ति जनाएका छन्।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्ने बताए। तर, अहिले संसद नबसेको अवस्थामा समेत संसदीय समितिले यो विषयलाई गम्भीरतापूर्वक नलिएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको धारणा स्पष्ट गर्नुपर्ने माग गरे।
शर्माले प्रश्न गर्दै भने, "राज्यसँग चार हजार मानिसको भीड व्यवस्थापन गर्ने क्षमता छैन? बल प्रयोग नियतवश गरिएको हो कि आकस्मिक रूपमा भयो?"
उनले संसद चलिरहेको भए यो विषय पहिलो एजेन्डा बन्ने उल्लेख गर्दै समितिले यसलाई प्राथमिकीकरण गर्न नसकेको बताए। "एजेन्डा निर्माण प्रक्रियामा कमी कहाँ भयो? पहिले बनाइएको थियो भने पछि किन सच्याइएन?" भन्दै उनले संसदीय प्रक्रियाप्रति पनि प्रश्न उठाए।
महामन्त्री शर्माले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश थियो वा आकस्मिक भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे। "गृहमन्त्रीलाई बोलाएर राज्यको बुझाइ स्पष्ट पार्नुपर्ने हो, तर उनले यो अवसर गुमाए," उनले टिप्पणी गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology