काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै आफैं गिरफ्तारी दिने घोषणा गरेका छन्। आजै गिरफ्तारी दिन लागेको बताउँदै उनले न्यायका सबै ढोका ढकढकाउने अठोटसमेत दोहोर्याएका छन्।
शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो। आदेशपछि उनलाई पक्राउ गर्न प्रहरी टोली उनी बस्ने निवासमा पुगिसकेको छ।
रविले भनेका छन्, "सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु।"
उनले आफूलाई ठूलो अन्याय भएको बताएका छन्। "ममाथि ठूलो अन्याय भएको छ," भनेर रविले आफ्नो पीडा पोखेका छन्।
रविको गिरफ्तारीको तयारी भइरहँदा उनले चितवनमा भोलि आयोजना गरिएको ‘जनयात्रा’ कार्यक्रम नरोक्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology