काठमाडौं । नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणामको ट्रामाडोल क्याप्सुल बरामद गरेको छ। शनिबार बिहान १:५५ बजे ललितपुरको कान्ती लोकपथमा रहेको भट्टे डाँडाको प्रहरी चौकीअगाडि चेकजाँचमा खटिएको प्रहरी टोलीले बिआर ०५ पिए ०४२१ नम्बरको भारतीय एम्बुलेन्सबाट लागुऔषध बरामद गरेको हो। एम्बुलेन्स वीरगञ्जबाट काठमाडौंतर्फ तीव्र गतिमा आइरहेको थियो।
एक पत्तामा १० थान क्याप्सुल रहेको ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएको ५ हजार ४ सय पत्ता र ट्रामन ५० एमजि लेखिएको ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता, अर्थात् ९४ हजार ८० थान क्याप्सुल भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। एम्बुलेन्ससँगै तीन थान मोबाइल पनि बरामद गरिएको छ।
प्रहरीको भनाइमा, एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालो झोलाभित्र लुकाएर ल्याइएको थियो। एउटामा सेतो धर्का र अर्कोमा हरियो धर्का देखिने गरी दुई झोलामा ती क्याप्सुल राखिएको थियो। चालकले चेकजाँचका बेला बाहिर निस्केर भाग्ने प्रयास गरे पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएर तलासी गर्दा लागुऔषध फेला परेको हो।
बरामद ट्रामाडोलसहित पक्राउ परेका चार जनामध्ये चालक २२ वर्षीय मोहम्मद उमर सिद्धिकी हुन्। उनी भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको रक्सौल नगर वार्ड नम्बर ५, पछियाटोलका हुन्। अन्य तीन जना समिर आलम (२०), मोहम्मद मुन्ना अन्सारी (३३) र नोर्जान खातुन (४५) रहेका छन्। सबैको स्थायी ठेगाना मोतिहारी जिल्ला पर्छ।
एम्बुलेन्समा एक बालक र एक बालिकासहित जम्मा ६ जना थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology