काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अब त्यस्ता पात्रको चर्चा गर्न चाहँदैनन्, जसलाई उनी विगतमै मिल्काइसकेको ठान्छन्। शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भने– 'अब समय त्यस्ता फालिसकेका पात्रमाथि बहस गर्न होइन।'
उनले २०८० देखि ०९० सम्मको दशकलाई बहसको दशक बनाउन आह्वान गरे। थापाका अनुसार अबको बहसको विषय कसरी नेपाली आइटी एक्सपर्टलाई पाँच गुणा सक्षम बनाउने, तलब तीन गुणा बढाउने र आइटी पूर्वाधार विस्तार गर्ने हुनुपर्छ। उनका अनुसार देशको अर्थतन्त्रले अप्ठ्यारो बेहोरेको बेलामा पनि आइटी क्षेत्रमा आशा देखिएको छ। उनले नेपालमा आइटीको सम्भावना विशाल रहेको बताए।
थापाले अबको एक दशकमा नेपालका युवाले किर्तिपुरको डाँडामात्र होइन, देशका विभिन्न स्थानमा मासिक दुई–चार लाख रुपैयाँ आम्दानी गर्न सक्ने अवस्था बनाउन सकिने विश्वास व्यक्त गरे। त्यसका लागि सोच्ने दिशामा काम गर्नुपर्ने, सुरुवात भइसकेको र गति बढाउन बाँकी रहेको उनले उल्लेख गरे।
उनले भने - 'मिलेर गर्नुपर्छ, सरकारी होस् या निजी, सबैको कोलाबोरेसन चाहिन्छ। हरेकले आफ्नो भागको काम गर्नुपर्ने हो। समयको लगानी गइसकेको, थोत्रो, थन्किएको विचार र पात्रमा होइन, सम्भावनामा बहस हूनुपर्छ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology